
निर्वाचन आयोगले १६ वर्ष उमेर पूरा गरेर नेपाली नागरिकता प्राप्त गरेका व्यक्तिहरूको मतदाता नामावली संकलन गरिरहेको छ ।
देशका सबै निर्वाचन कार्यालय, सबै जिल्ला प्रशासन कार्यालय र तोकिएका इलाका प्रशासन कार्यालयबाट मतदाता नामावली संकलन भइरहेको आयोगले जनाएको छ ।
यसका साथै मतदाता नामावली संकलन विशेष कार्यक्रममार्फत हिमाली र पहाडी जिल्लाका स्थानीय तहहरूमा १० दिन र अन्य जिल्लाका स्थानीय तहहरूमा १५ दिनका दरले पहिलो चरणको कार्यक्रम समाप्त भएको र दोस्रो चरणको कार्यक्रम पनि सञ्चालन भइरहेको आयोगको भनाइ छ ।
यस्तै मतदाता नामावली संकलन विशेष कार्यक्रम सञ्चालन भइरहँदा विभिन्न सञ्चारमाध्यमहरुमा मतदाता नामावलीमा दर्ता हुन कठिन भएको, अव्यवस्थित भएको, समावेशीतालाई ध्यान नपुर्याएको जस्ता विषयहरू आएकोले यसमा ध्यानाकर्षण भएको आयोगले जनाएको छ ।
आयोगका अनुसार स्थानीय तहमा कार्यक्रम सञ्चालन भइरहेको अवस्थामा आफ्नै स्थानीय तहबाट मतदाता नामावलीमा नाम दर्ता गर्न सकिने र आफ्नो स्थानीय तहमा कार्यक्रम समाप्त भएपछि मतदाता नामावलीमा नाम दर्ता गराउन छुट भएकाले निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयमध्ये पायक पर्ने कार्यालयबाट मतदाता नामावलीमा नाम दर्ता गराउन सकिनेछ ।