२९ जेठ २०८३, शुक्रबार

कांग्रेस महाधिवेशनमा शशांक कोइरालाले भन्दा लोकप्रिय मत ल्याउने को हुन् मुक्ताकुमारी ?

कांग्रेस महाधिवेशनमा शशांक कोइरालाले भन्दा लोकप्रिय मत ल्याउने को हुन् मुक्ताकुमारी ?

नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा भएको निर्वाचनमा मुक्ताकुमारी यादवले सर्वाधिक मत ल्याएर केन्द्रीय सदस्य निर्वाचित भएकी छन् । उनले ३९६० मत ल्याएकी हुन् ।   

यसअघि केन्द्रीय सदस्यमा सर्वाधिक मत शशांक कोइरालाले ल्याएका थिए । तर, कोइरालाले ल्याएको ३८३६ मतभन्दा १२४ मत बढी ल्याएर यादव सर्वाधिक लोकप्रिय मतका साथ निर्वाचित भएकी हुन् । 

४४ वर्षीया यादव धनुषा निर्वाचन क्षेत्र नम्बर २ को शहीदनगर नगरपालिका-१, बालाबाखरकी हुन् । 

यसअघि २०७० सालको संविधान सभाको चुनावमा समानुपातिक सांसद बनेकी यादव २०७४ को राष्ट्रिय सभामा समेत प्रदेश २ बाट निर्वाचित भएकी थिइन् । दुई वर्षे कार्यकाल सकिएपछि उनी राष्ट्रिय सभाबाट बाहिरिनु परेको थियो ।

'म आधिकारिक रूपमा डा. शेखर कोइराला प्यानलको उम्मेदवार थिएँ,' यादवले लोकान्तरसँग भनिन्,'तर शेरबहादुर देउवा र विमलेन्द्र निधिको प्यानलमा समेत मेरो नाम सहानुभूतिका साथ राखिएको र एक किसिमले साझा उम्मेदवार भएकाले सर्वाधिक मत आएको हो ।' 

समावेशी क्लस्टरअन्तर्गत मधेशी महिला समूहमध्ये भएको निर्वाचन यादवसँगै अन्य तीन जना नेतृहरू केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।

दोस्रो स्थानमा मीनाक्षी झा, तेस्रो स्थानमा मञ्जु यादव र चौथो स्थानमा नगिना यादव निर्वाचित भएका छन् । 

झा लगातार तीन पटक समानुपातिक सांसद भएकी नेतृ हुन् । २०६४ र २०७० सालको संविधान सभामा समानुपातिक सांसद भएकी झा अहिले पनि प्रतिनिधि सभामा समानुपातिक सांसद छिन् । उनी धनुषाको निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधित्व गर्छिन् ।

त्यसै गरी तेस्रो स्थानमा निर्वाचित भएकी मञ्जु यादव २ नम्बर प्रदेशको प्रदेश सभामा समानुपातिक सांसद हुन् । उनी महोत्तरीबाट प्रतिनिधित्व गर्छिन् ।

त्यसै गरी चौथो स्थानमा रहेकी नगिना यादव पनि महोत्तरीबाट प्रतिनिधित्व गर्छिन् । 

दोस्रो पटक भएको राष्ट्रिय सभाको निर्वाचनमा उनी उम्मेदवार भए पनि पराजित भएकी थिइन् । उनी पनि महोत्तरी जिल्लाबाट प्रतिनिधित्व गर्छिन् ।

चार सिटका लागि भएको मधेशी महिला समूहतर्फको निर्वाचनमा ५ जनाले उम्मेदवारी दिएका थिए । 

salt training

कमेन्ट गर्नुहोस्