
सुदूरपश्चिम प्रदेशको कैलाली पछिल्लो समय अपराध र लागू औषधको हब बनेको छ । दक्षिणी सिमाना भारतसँग जोडिएको कैलाली जिल्लामा अपराधका घटनाहरू बढेको पछिल्ला २ क्रूर हत्याले देखाउँछ ।
मंसिर २३ गते बेलुका लम्की नगरपालिका–१ का २२ वर्षीय युवक भूपेन्द्र बडुवालको टीकापुर नगरपालिका–१ मा रहेको सिद्धार्थ होटलनजिकै धारिलो हतियार प्रहार गरी हत्या भएको थियो ।
बडुवाल हत्या घटनामा २१ जनाविरुद्ध जाहेरी परेको छ । शुरूमा ८ जना पक्राउ परेकोमा त्यसपछि ४ जनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी देवप्रसाद जोशीले जानकारी दिए ।
अनुसन्धानका क्रममा प्रहरीले कात्तिक २८ गते लम्कीचुहा– ५ का विकास खड्कालाई पक्राउ गरेको गरेको थियो । घटनाको भोलिपल्ट अर्थात् कात्तिक २४ गते प्रहरीले ८ जनालाई पक्राउ गरेको थियो ।
प्रहरीले लम्कीचुहा नगरपालिका–३ चिसापानीका २४ वर्षीय महेश रावल, २० वर्षीय आर्यन देवकोटा, २० वर्षीय धीरज शाही, लम्कीचुहा नगरपालिका–१ का २२ वर्षीय कपिल श्रेष्ठ, १८ वर्षीय किशोर, टीकापुर नगरपालिका–१ का २३ वर्षीय प्रवीण रिमाल, २१ वर्षीय रोहित आले र २६ वर्षीय सोहन शाहलाई पक्राउ गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) विश्व अधिकारीले अझै ९ जना फरार रहेकाले उनीहरूको खोजी भइरहेको जनाकारी दिए ।
त्यस्तै जिल्ला अदालत कैलालीले पक्राउ परेका मध्ये ३ जनालाई धरौटीमा छाडेको छ । विकास खड्का, लोकेन्द्र कुँवर र सवीनजंग शाही धरौटीमा छुटेका हुन् ।
अन्य ९ जनालाई पुर्पक्षका लागि कारागार पठाएको छ ।
उक्त घटनाको ११ दिनमा कैलालीमै अर्को जघन्य अपराधको घटना घट्यो ।
जानकी गाउँपालिका– ९ का २५ वर्षीय अरुण दासको विभत्स रूपमा हत्या भएको छ । सोही गाउँपालिकाको अमरावती सामुदायिक वनमा करीब १ किलोमिटरभित्र घाँटी रेटेर छिनाएको अवस्थामा फेला परेको छ ।
सामान्य परिवारका दास पुस २ गते साँझ घरबाट निस्किएका थिए । अर्को दिन दिउँसो स्थानीयले घाँस काट्न जाँदा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
त्यसपछि हत्याका अभियुक्तले हत्या स्वीकारेको फोन रेकर्डको अडियो बाहिरिएको थियो । अडियोमा ‘मनोज’ नाम गरेका व्यक्तिले आफूले हत्या गरेर भारततर्फ भागेको बताएका थिए ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी विश्व अधिकारीका अनुसार उनीहरूको खोजी भइरहेको र घटनामा संलग्न केही व्यक्तिहरूमाथि अनुसन्धान भइरहेको छ ।
कैलालीमा त्यति मात्र होइन, पछिल्लो समय लागूऔषध ब्राउन सुगर (खैरो हेरोइन)को तस्करी पनि अत्यधिक भइरहेको देखिन्छ ।
पुस ७ गते आधा केजी खैरो हेरोइनसहित २ जना धनगढी उपमहानरपालिका–८ का १८ वर्षीय शैलेश चौधरी र २४ वर्षीय सन्दीप श्रीवास्तवलाई पक्राउ गरेको थियो ।
कैलालीमा पछिल्लो समयमा लागूऔषध खैरो हेरोइनको कारोवार बढेको जिल्ला प्रहरी कार्यालय कैलालीले स्वीकारेको छ ।
‘खुल्ला सिमानाका कारण लागूऔषध तस्करीका घटना बढेका छन्,’ एसपी अधिकारीले लोकान्तरसँग भने, ‘हामीले त्यसलाई नियन्त्रण गर्न विभिन्न कार्यक्रमहरू चलाइरहेका छौं ।’
प्रहरीले यो आर्थिक वर्षमा ६० जना लागूऔषध कारोवारीलाई पक्राउ गरेको एसपी अधिकारीले बताए । लागूऔषधका कारण अपराधका घटनामा वृद्धि भएको एसपी अधिकारीले बताए ।
‘पारिपट्टि जाने लागूऔषध खाने र यता आएर अपराध गरेको घटनाहरू भएका छन्,’ अधिकारीले भने, ‘कतिपय अवस्थामा महिलाहरूलाई पनि यस्ता अपराधमा संलग्न गराउने गरेको समेत पाइएको छ ।’
अपराधमा युवा
कैलालीमा लागूऔषध, हत्या लगायतका अपराधमा १९ वर्षदेखि २५ वर्षसम्मका युवाको बढी संलग्नता देखिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
‘पछिल्लो अवस्थालाई हेर्ने हो भने २५ वर्षसम्मका युवा बढी अपराधमा संलग्न देखिएका छन् । बडुवाल हत्या, दास हत्या र लागूऔषधमा संलग्नहरूलाई हेर्दा पनि त्यस्तो देखिन्छ,’ प्रहरीका एक अधिकारीले भने ।
प्रहरीले अपराध र लागूऔषध सेवन नियन्त्रणका लागि समुदायमा जनचेतनाका कार्यक्रम गर्दै आएको छ । आफ्ना छोराछोरीहरू कुलतमा लागेको बारेमा बुवाआमाले कसरी जनाकारी राख्ने भन्ने विषयमा पनि कार्यक्रमहरू गरिरहेको एसपी अधिकारीले दाबी गरे ।
लागूऔषधले अपराध निम्त्यायोः डीआईजी पुरुषोत्तम कंडेल, प्रदेश प्रहरी प्रमुख
सुदूरपश्चिममा कैलालीलगायत भारतसँग जोडिएका जिल्लामा लागूऔषधका कारण जघन्य अपराधहरू बढेको सुदूरपश्चिम प्रदेश प्रहरीका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) पुरुषोत्तम कंडेलले स्वीकारेका छन् ।
‘अहिले कैलालीलगायत भारतसँग सिमाना जोडिएका जिल्लामा लागूऔषधले अपराध निम्त्याएको देखिन्छ,’ डीआईजी कंडेलले लोकान्तरसँग भने, ‘त्यसलाई नियन्त्रणका लागि काउन्टर पार्ट मिटिङ पनि हुँदैछ ।’
सीमा नाकामा हुने अपराध नियन्त्रणका लागि भारत र नेपालका प्रहरी तथा सुरक्षा निकायबीच बैठक हुँदैछ । बैठकले अपराध न्युनीकरणका लागि साझा धारणा र रणनीति तय गर्ने कंडेलले बताए ।
त्यसका अलवा समुदायसँग जोडिएर पनि नियन्त्रण गर्न सकिने विषयमा समेत छलफल भइरहेको डीआईजी कंडेलले बताए ।