
नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मंसिर २७ गते भएको मतदानको गणना बिहीवार सकिँदैछ । शुरूमा सभापति, उपसभापति, महामन्त्री र सहमहामन्त्रीको गणना भएको थियो ।
त्यसपछि खुलातर्फका केन्द्रीय सदस्यको गणना भएको थियो । प्रदेशतर्फको केन्द्रीय सदस्य, दलित, महिला, जनजाति, मधेशी लगायतको गणना सकिएको छ ।
केन्द्रीय सदस्यका लागि विभिन्न क्लस्टरको गणना आज सकिन लागेको कांग्रेसको निर्वाचन समितिले जनाएको छ ।
विद्युतीय मतदान नभई मतपत्रमा मतदान भएको, धेरै क्लस्टर र उम्मेदवार भएका कारण गणनामा ढिलाइ भएको हो ।
यसैबीच, नेपाली कांग्रेसको नवनिर्वाचित केन्द्रीय सदस्यको बैठक शनिवार बस्ने भएको छ ।
पुस १० गते बिहान ११ बजे पार्टी कार्यालय सानेपामा केन्द्रीय समितिको पहिलो बैठक बस्ने तय भएको हो ।
पहिलो बैठकले पार्टीको प्रवक्ता तोक्ने र नेताहरूको वरीयता निर्धारण गर्ने तयारी छ ।