इजरायलको राम अर्थात् युनाइटेड अरब लिस्ट पार्टीका नेता मन्सूर अब्बासले दिएको एक बयान चर्चामा छ ।
राम पार्टी इजरायलको गठबन्धन सरकारको साझेदार हो ।
मंगलवार उनले इजरायल यहुदी राष्ट्र भएको र त्यसलाई परिवर्तन गर्न नसकिने बताए । अब्बासको यो टिप्पणी इजरयालका प्रमुख सञ्चारमाध्यमहरूले प्राथमिकताका साथ छापेका छन् ।
टाइम्स अफ इजरायलका अनुसार, अब्बासले अरब समुदायलाई व्यावहारिक दृष्टिकोण अपनाउन र इजरायलको पहिचानलाई चुनौती नदिन सल्लाह दिएका हुन् ।
अब्बासले तेल अभिभमा ग्लोब्स न्युज म्यागजिनको सम्मेलनमा टिप्पणी गरेका हुन् । सरकारमा रहेर मुस्लिम समुदायका लागि अब्बासले काम गरिरहेका छन् ।
उनले भने, ‘इजरायलको जन्म यहुदी राष्ट्रका रूपमा भएको थियो । यहुदीहरूले नै यहुदी राष्ट्र बनाउने निर्णय लिएका थिए । यस्तोमा राष्ट्रको पहिचान के हो भन्ने प्रश्न नै उठ्दैन । इजरायलले जुन रूपमा जन्म लिएको हो, त्यही रूपमा रहन्छ ।’
जेरुसेलम पोस्टले मन्सूर अब्बासको यो टिप्पणी ऐतिहासिक भएको बताए । अरब पार्टीहरूको दृष्टिकोणबाट यो नितान्त फरक रहेको उसले लेखेको छ ।
अरब पार्टीहरू इजरायल सबै नागरिकका लागि हुनुपर्छ, यहुदीहरूका लागि मात्र हैन भन्छन् । अरब पार्टीहरू ल अफ रिटर्नमा परिवर्तन गर्नुपर्ने बताउँछन् । त्यसो गर्दा मुसलमानहरू इजरायलमा बस्न सक्छन् र उनीहरूको पनि बहुमत हुन्छ ।
अब्बासले यस्तै किसिमको बयान नोभेम्बर महिनामा पनि दिएका थिए । अल अरब मिडियामा अरबी भाषामा उनले यो कुरा बताएका थिए ।
अन्य अरब नेताहरूले चाहिँ अब्बासले हिब्रु र अरबी भाषामा विरोधाभासी बयान दिने गरेको बताए । इजरायलले सबै नागरिकलाई समान व्यवहार नगरेमा न्यायको अपेक्षा गर्न नसकिने उनीहरूको भनाइ छ ।