प्रदीप कुमार रावतलाई चीनका लागि भारतका नयाँ राजदूत बनाइएको छ ।
सोमवार भारतको विदेश मन्त्रालयले उनको नियुक्तिका विषयमा प्रेस रिलीज जारी गरेको थियो ।
रावतले चिनियाँ भाषा बोल्न र बुझ्न सक्छन् ।
रावतको नियुक्तिपछि उनको चिनियाँ भाषामा दखललाई प्रमुखताका साथ हेरिएको छ ।
दुई देशबीचको सम्बन्ध ऐतिहासिक रूपमा खराब भएको बेलामा रावतको नियुक्ति भएको हो । पूर्वी लद्दाखमा सन् २०२० को अप्रिल महिनादेखि नै दुई देशका सैनिक आमनेसामने छन् । अहिलेसम्म गतिरोध कायम छ र चीनले वास्तविक नियन्त्रण रेखा नजिक संरचना निर्माण गरिरहेको छ ।
रावतलाई चीनसम्बन्धी राम्रो अनुभव छ । विदेश मन्त्रालयमा सन् २०१४ देखि २०१७ सम्म उनी पूर्वी एसिया मामिलाका सहसचिव थिए र चीनसम्बन्धी नीतिको जिम्मेवारी उनैलाई थियो ।
रावतको नियुक्तिको चर्चा चिनियाँ सञ्चारमाध्यममा पनि भइरहेको छ । ग्लोबल टाइम्सले रावतको नियुक्तिका विषयमा एउटा लेख छापेको छ ।
चीन भारत सम्बन्धमा रावतको नियुक्ति सकारात्मक संकेत भएको तर चीनलाई बुझेको मानिस भन्दैमा चीनसँग उनले मैत्री नराख्ने त्यसमा लेखिएको छ । भारतीय कूटनीतिकर्मीहरूको व्यवहार भारतको आन्तरिक राजनीतिबाट प्रेरित हुने पनि लेखिएको छ ।
भारत सरकारले सम्बन्धमा आएको तिक्तता हटाउनका लागि ठोस कदम नउठाएमा नयाँ राजदूत नियुक्तिले कुनै फरक नपार्ने चिनियाँ विश्लेषकहरू बताउँछन् ।
उनीहरूका अनुसार, द्विपक्षीय सम्बन्धमा राजदूत कुनै ठूलो कुरा हैन । दुई देशको सम्बन्धमा आएको चिसोपनका अनेकौं कारण छन् । विजय गोखले पनि चीनलाई राम्ररी बुझ्ने राजदूत थिए तर चीन छोडेपछि उनी पनि चीनविरोधी भए भन्ने टिप्पणी चिनियाँ विज्ञहरूले गरेका छन् ।