
नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको शनिवार बुटवलमा सम्पन्न ११ औं राष्ट्रिय महाधिवेशनले भीमज्वाला राईको नेतृत्वमा ४१ सदस्यीय केन्द्रीय कमिटी सर्वसम्मत रूपमा चयन गरेको छ ।
उपाध्यक्षमा नवराज घिमिरे, जीतबहादुर मल्ल, विष्णु लामा, सुरेन्द्र साह, ठाकुर प्रसाद गैरे, महासचिवमा केशव थापा (निरु) उपमहासचिवमा देवी प्रसाद भट्टराई, विष्णु पराजुली, खगेन्द्रबहादुर ओली, सचिवमा सरस्वती रिजाल, शंकर थापा, टीका भट्टराई, विष्णुबहादुर खत्री र रामकुमार ढुंगानासहित ४१ सदस्यीय केन्द्रीय कमिटी चयन गरेको हो ।
महाधिवेशनले ५ बुँदे प्रस्ताव पारित गरेको छ । कोराना महामारीले यातायात क्षेत्र धरासायी बनेको बन्दै राज्यले सार्वजनिक यातायात क्षेत्रको पुनःस्थापना गर्न संगठनले माग गरेको छ । संगठनका नवनिर्वाचित अध्यक्ष भीम ज्वाला राईले लगानीकर्ता र श्रमिकको लागि विशेष प्याकेजसहितको यातायात पुनःस्थापना योजना ल्याउनुपर्ने बताए ।
‘राज्यले पुनर्कर्जा त ल्याायो,’ राईले भने, ‘त्यो पर्याप्त भएन । अब सामाजिक सुरक्षासहितको प्याकेज ल्याएर पुनःस्थापना गर्नुपर्छ ।’
राज्यले यातायात मजदुरलाई दोस्रो दर्जाको नागरिक बनाएको मजदुरहरूको गुनासो छ ।
‘राज्यले अधिकार सम्पन्न राष्ट्रिय यातायात प्राधिकरण बनाएर यातायात क्षेत्रका तमाम समस्या समाधान गरिनुपर्छ । अहिलेको राज्यको प्रणालीले सार्वजनिक यातायात क्षेत्रका समस्या समाधान गर्न सक्दैन,’ उनले भने ।
श्रमिकको पुनःस्थापना र सुरक्षा, सडक दुर्घटना र सचेतना, दुर्घटनापछिको उपचारमा पहुँच, दुर्घटना र श्रमिकको सरोकार, कानूनी झमेला र सास्ती र यातायाता प्राधिकरण हाम्रो अभियानको प्रस्ताव महाधिवेशनले पारित गरेको महासचिव केशव थापाले बताए ।
‘देशभर ११ लाख यातायात मजदुर कोरोनालगायत विभिन्न कारणबाट प्रभावित भए,’ थापाले भने, ‘दुई लाख श्रमिक पेशाबाट विस्थापित भए । रोजगारी, अधिकार, संरक्षण र संवादको आधारभूत कुराबाट विमुख बनेका छन् । त्यसैले राज्यबाट पुनःस्थापना र व्यवस्थापनको खाँचो छ ।’