
नेकपा (माओवादी केन्द्र)की स्थायी कमिटी सदस्य एवं ऊर्जामन्त्री पम्फा भुसालले पार्टीको ८ औं महाधिवेशनले समाजवादमा जाने मौलिक विचार र संगठन निर्माण गर्ने बताएकी छन् ।
विगत र वर्तमानको समीक्षा गर्दै आगामी दिनमा कसरी अगाडि बढ्ने भन्नेबारे मौलिक विचार निर्माण गर्ने उनले बताइन् ।
माओवादीको ८ औं महाधिवेशन उद्घाटन समारोहमा स्वागत मन्तव्य राख्दै नेतृ भुसालले महाधिवेशनबाट क्रान्तिकारी विचार निर्माण गर्दै त्यसलाई लागू गर्ने संगठन निर्माण गर्ने बताएकी हुन् ।
‘नेपाली समाजलाई रुपान्तरण गर्दै समाजवादतर्फ कसरी अगाडि बढाउने भन्नेमा छलफल गर्छौं । विगत र वर्तमानको समीक्षा गर्दै आगामी दिनमा कसरी जान्छौँ भन्ने निर्णय लिन्छौँ,’ उनले भनिन्, ‘हाम्रो आफ्नो मौलिकतामा नेपाली समाजवाद बनाउने भन्नेमा लाग्दैछौँ ।’
महाधिवेशनबाट क्रान्तिकारी राजनीतिक विचारधारा संगठन र समाजवादमा जाने नयाँ राजनीतिक विचार लिएर महाधिवेशन सम्पन्न गर्ने उनले बताइन् ।
शुरूमा सम्मेलन भनेर तयारी गरिए पनि टोलदेखि पालिकासम्मको सम्मेलन भएकोले महाधिवेशनमा रुपान्तरण गरिएको उनले बताइन् ।
माओवादीले १० वर्षे सशस्त्र जनयुद्धको समयमा उठाएका एजेण्डा अहिले राष्ट्रको एजेण्डा बनेको उनले बताइन् ।