
नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य (किरण) ले माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रतिक्रियावादी दलालको संज्ञा दिएका छन् ।
माओ दिवसको अवसरमा महासचिव वैद्यले प्रचण्ड र ओलीलाई प्रतिक्रियावादका दलालको संज्ञा दिएका हुन् ।
उनले कम्युनिष्ट पार्टीको स्थापना भएयता थुप्रै संघर्षहरू भए पनि शुरूमा भएका क्रान्तिकारीहरू पछि गएर बिग्रिएको बताए ।
यस्ता घटनाहरूको व्याख्या नगरी अघि बढ्न नसकिने भन्दै अहिले नेपालमा सच्चा कम्युनिष्ट को हो भन्ने प्रश्न खडा भएको बताए ।
महासचिव वैद्यले दक्षिणपन्थीको नेतृत्व गर्नेहरूले नै अहिलेको ठूलो खतरा दक्षिणपन्थी अवसरवाद भनिरहेको पनि दाबी गरे ।
‘जस्तो अवसरवादी भए पनि विचित्रको एउटा कुरा के हो भने मार्क्सवाद, लेनिनवाद, माओवादको नाम त जप्नुपर्दो रहेछ । प्रचण्डले माओवाद त उहिले छोडिसके, अहिले सबै वाद झुन्ड्याएका छन्,’ उनले भने, ‘ओली–प्रचण्डहरू दक्षिणपन्थी मात्रै होइनन्, दक्षिणपन्थी भन्दा कम से कम कित्ताको कुरा आउँछ, यिनीहरू त प्रतिक्रियावादका दलाल हुन् ।’
महासचिव वैद्यले मार्क्सवाद, लेनिनवाद, माओवाद मात्र भनेर नहुने भन्दै त्यसले भनेअनुसारको राजनीतिक कार्यदिशा बनाउनुपर्नेमा जोड दिए ।