
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङदेनले आफूहरूको स्वागतमा तामझाम नगर्न निर्देशन दिएका छन् ।
आफूलगायत केन्द्रीय पदाधिकारी तथा केन्द्रीय प्रतिनिधिहरू कार्यगत भ्रमणमा जाँदा तामझामको व्यवस्था नगर्न निर्देशन दिएका हुन् ।
राप्रपाले आइतवार सबै जिल्ला कार्यसमितिलाई यस्तो निर्देशन पत्र पठाएको छ ।
‘केन्द्रीय अध्यक्ष, पदाधिकारीलगायत अन्य केन्द्रीय प्रतिनिधिहरूसमेत जिल्ला र सम्बन्धित स्थानीय तहमा कार्यगत भ्रमणमा आउनुहुँदा माला, खादा, उपहारलगायत अन्य सामग्री र तामझामको व्यवस्था नगर्न, नगराउनु भै सादगी व्यवहारको आचरण अपनाउनु हुन केन्द्रीय अध्यक्षज्यूको निर्देशनानुसार हार्दिक अनुरोध छ,’ निर्देशनमा उल्लेख छ ।
सो निर्देशन महामन्त्री भुवनकुमार पाठकले राप्रपाका सबै गाउँपालिका र नगरपालिकाका अध्यक्षहरूलाई पनि बोधार्थ तथा कार्यार्थ पठाएका छन् ।