१४ असार २०८३, आइतबार
राजनीति

माओवादी केन्द्रको महाधिवशनले सुधार्‍यो एमाले र माओवादीको सम्बन्ध

फेरि पार्टी एकताको वातावरण बन्ने प्रचण्डको अपेक्षा
पुस ११, २०७८
माओवादी केन्द्रको महाधिवशनले सुधार्‍यो एमाले र माओवादीको सम्बन्ध

तिक्ततापूर्ण सम्बन्ध रहेका नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको दरार साँघुरो हुँदै गएको संकेत देखिएको छ । गत वर्षको पुसयता भेटघाट त टाढाको कुरा राम्ररी संवाद समेत नभएका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमालेका अध्यक्ष केपी शर्मा ओलीबीचमा माओवादीको आठौं राष्ट्रिय महाधिवेशनका सम्बन्धमा आइतबार टेलिफोन वार्ता भएसँगै संवादको ढोका खुलेको छ ।

हुन त गत मंसिर २४ गते कांग्रेसको १४ औं महाधिवेशनमा ओली र प्रचण्ड करीब ११ महिनापछि एउटै मञ्चमा देखिएका थिए । गत वर्षको पुस ५ मा तत्कालिन प्रधानमन्त्रीको रूपमा केपी ओलीले संसद विघटन सिफारिस गरेयता दुई नेताबीच हार्दिकता थिएन ।

यतिसम्म कि कांग्रेस महाधिवेशनमा भाषणको क्रममा उनीहरूबीच घोचपेच चलेको थियो । प्रचण्ड र ओलीले भाषणको क्रममा एकअर्कालाई सम्बोधन समेत गर्न चाहेका थिएनन् ।
तर, माओवादी केन्द्रको राष्ट्रिय महाधिवेशनको क्रममा भने ओली र प्रचण्डकोबीच संवादको ढोका खुलेको हो । माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने निर्णय गरेपछि महाधिवेशनमा अतिथिको रूपमा आमन्त्रण गर्न प्रचण्डले ओलीलाई टेलिफोन गरेका थिए ।

माओवादी केन्द्रको आठौं महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्ने क्रममा प्रचण्ड एमाले अध्यक्ष ओलीलाई निमन्त्रणा दिन टेलिफोन गरेको बताए ।
प्रचण्डले भने, ‘मैले एमालेका अध्यक्ष ओलीजीलाई फोन गरें । उहाँ झापामा हुनु हुँदोरहेछ । काठमाडौंमा भएको भए आइहाल्थें भन्नुभयो । सम्मेलनमा कोही अरू नेता नबोलाउने भनिएकाले म यता आएँ भन्नुभयो । मैले सकेसम्म आउनुस्, दिउँसो एक दुई बजेसम्म आइपुग्दा पनि हुन्छ भने । उहाँले म पहिल्यै निर्धारण भएको कार्यक्रममा भएकाले आउन नसक्ने र महासचिवलाई पठाउँछु भन्नुभयो । उहाँले महासचिवलाई पठाउनु पनि भयो ।’
एक अर्काको अस्तित्व नै अस्वीकार गर्ने र अनुहार समेत देख्न नचाहने अवस्थाको तिक्ततापूर्ण अवस्थामा सम्बन्ध पुगेको बेला दुई नेता बीच टेलिफोन वार्ता हुनुले आगामी दिनमा संवादको वातावरण बनेको छ ।

एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेपछि ओली र प्रचण्ड दुई अध्यक्ष थिए । उनीहरू पार्टी र सत्ताको नेतृत्वको बारेमा कुरा नमिलेपछि ओलीले २०७७ पुस ५ मा संसद विघटनको सिफारिस गरे । त्यसपछि, दुई नेता अलग्गिएका थिए । २०७७ फागुन २३ मा सर्वोच्च अदालतको फैसलाले दुई पार्टीको एकता भंग गराएपछि ओली र प्रचण्डको फरक– फरक बाटो तय भएको थियो ।
एक वर्ष यता विग्रेको सम्बन्ध माओवादी केन्द्रको महाधिवेशनको क्रममा सुधार हुने संकेत देखा परेको छ ।

‘एकताको नयाँ वातावरण बन्न सक्छ’
एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो अनुपस्थितिमा माओवादी केन्द्रको महाधिवशेनमा सहभागी हुन पाएका एमाले महासचिव शंकर पोखरेलले सम्बोधनको क्रममा एमाले र माओवादी केन्द्रको एकता सही भएको तर जोगाउन नसकेकोमा आफूलाई पछुतो भएको अभिव्यक्ति दिए ।

उनले भने, ‘एउटा बलियो वामपन्थी शक्ति बनाउने उद्देश्यका साथ देशव्यापीरूपमा एउटै घोषणा पत्रमा चुनाव लड्यौँ । जनताले त्यसलाई अनुमोदन गरे । त्यहीँ जनादेशको बलमा दुई पार्टीको एकीकरण गरेर नेकपा गठन ग-यौँ तर, त्यो एकतालाई कायम राख्न सकेनौँ, एकताका लागि इमान्दार प्रयास थिए, ऐतिहासिक आवश्यकता थियो, त्यो एकता जोगाउन नसकेकोमा पछुतो छ ।’
त्यतिमात्रै होइन, पोखरेलले आगामी दिनमा वामपन्थी पार्टीहरूको बीचमा सहकार्य र एकताको सम्भावना रहेको पनि बताए ।

‘राष्ट्रियताको मामिलामा हामी विभाजित हुनुपर्ने कारण छैन । कतै हामी नेपालमा नियन्त्रित अस्थिरताको शिकार त भइरहेका छैनौँ ? राष्ट्रियता र स्वाधीनताको पक्षमा एकजुट हुनुपर्छ । अधिकारको प्रश्नमा मिल्छौँ, अधिकार र समृद्धिको प्रश्नमा मिल्न नसक्ने कारण के हो ?’, पोखरेलले भने ।

उद्घाटन समारोहको अन्तिममा बोलेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सबै नेताको प्रशंशै प्रशशा गरेका थिए ।
त्यसैक्रममा, उनले एमाले महासचिव शंकर पोखरेलको अभिव्यक्तिको पनि सह्राना गरेका थिए । एमाले र माओवादी केन्द्रको बीचमा पार्टी एकता गरेर गल्ती नगरेको र एकता भंग भएको बारेमा दुवै पार्टीमा समीक्षा हुनुपर्ने प्रचण्डले प्रस्ताव गरेका छन् ।

प्रचण्डले भने, ‘महासचिवको हैसियतले उहाँले जे कुरा राख्नुभयो, त्यो पनि हामी सबैका लागि मननयोग्य कुरा नै उहाँले राख्नुभयो । र, मलाई सबभन्दा मन परेको कुरो के हो भने हामीले पार्टी एकता गरेर गल्ती गरेका थिएनौँ । म कमरेड शंकर पोखरेल र उहाँमार्फत् सिङ्गो नेकपा एमालेका साथीहरूलाई भन्न चाहन्छु– हामीले गल्ती गरेका थिएनौँ । फेरि एकचोटि आत्मसमीक्षा गरौँ ।’

त्यति मात्रै होइन, प्रचण्डले आफ्नो पार्टीमा नेकपा विभाजनबारे समीक्षा गर्ने र एमालेले पनि समीक्षा गरोस् भन्ने चाहना व्यक्त गरेका छन् ।
उनले भने, ‘के कारणले त्यत्रो महान उद्देश्य र हामीले देखेको सपना भत्कायौँ । त्यसको आत्मसमीक्षा गरौं । महाधिवेशनको बन्दसत्रमा हामी त समीक्षा गर्छौ नै एमाले महासचिव शंकर पोखरेलले पनि आफ्नो पार्टीमा त्यसबारे छलफल चलाउनुहनेछ भन्ने लागेको छ । त्यसले नयाँ वातावरण बनाउँछ भन्ने लागेको छ ।’

राष्ट्रिय कार्यभार पूरा गर्नको लागि भविष्यमा फेरि दुई पार्टी एक हुन सक्ने सांकेतिक अभिव्यक्ति दुवै नेताले प्रस्तुत गरेका थिए ।

माधव नेपालको मन मिलेका कुरा
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले नयाँ नेपाल निर्माणको लागि मिलेर अघि बढ्नुपर्ने भन्दै भविष्यमा माओवादी केन्द्रसँग पार्टी एकीकरण गर्न सकिने आशयको अभिव्यक्ति दिएका थिए ।
उनले भने, ‘मन त्यस्तो हुँदो रहेछ, मन मिल्दो रहेछ । मन मिलेपछि बाँकी कुरा मिल्दै जान्छ ।’

अध्यक्ष नेपालले अगाडि भनेका थिए, ‘अहिले पनि एकताबद्ध भएर जानुपर्ने आवश्यकता छ । मूल कुरामा सहमति छ भने बाँकी कुरालाई थाती राख्न सकिन्छ । इतिहास अगाडि बढिसकेको छ, पछाडि फर्किन सम्भव छैन ।’
माधव नेपालको अभिव्यक्तिको प्रशंशा गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आगामी दिनमा गठबन्धन भन्दा पनि अगाडि बढेर जान सकिने बताए । ‘आगामी दिनमा गठबन्धन भन्दा अगाडि बढेर नयाँ वातारण बन्नेछ ।’

माओवादी केन्द्रको बन्दसत्र भोलिबाट

यसैबीच माओवादी केन्द्रको बन्दसत्र सोमबार बिहान ११ बजेदेखि सुरु हुने भएको छ । माओवादी केन्द्रले राष्ट्रिय सम्मेलन आयोजना गर्ने र पार्टीको विचार व्यवस्थित गर्ने भनेपनि अन्तिम समयमा आएर राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रूपान्तरण गरेको थियो ।

‘राष्ट्रिय सम्मेलन भनिए पनि महाधिवेशनमा लागि आवश्यक पर्ने सबै विधि प्रयोग भएकोले स्थायी कमिटीको बैठकबाट राष्ट्रिय सम्मेलनको तयारीलाई नै महाधिवेशनमा रूपान्तरण गर्ने निर्णय भयो’, माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले भने ।

देशभरबाट आएका १५ सय जना प्रतिनिधि सहभागी हुने माओवादी केन्द्रको महाधिवेशनको बन्दसत्रले पार्टीको क्रान्तिकारी विचार र नयाँ विचार सहितको क्रान्तिकारी पार्टी निर्माण गर्ने माओवादी नेताहरूले दावी गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्