०८ असार २०८३, सोमबार

समावेशी आयोगले खस आर्य समुदायका सम्पूर्ण थरहरू सूचीकरण गर्ने

समावेशी आयोगले खस आर्य समुदायका सम्पूर्ण थरहरू सूचीकरण गर्ने

राष्ट्रिय समावेशी आयोगले खस आर्य समुदायका सम्पूर्ण थरहरू सूचीकरण गर्ने भएको छ ।

आयोगले क्षेत्री, ब्राम्हण, ठकुरी संन्यासी (दशनामी) समुदायका सम्पूर्ण थर तथा गोत्रको सूची तयार गरी प्रारम्भिक प्रतिवेदन तयार गरेको र उक्त थरहरूको सूचीमा केही थर तथा गोत्रहरू छुट भएको वा दोहोरिएको हुन सक्ने भएकाले  सो सम्बन्धमा सम्बन्धित सबैसँग राय सुझाव तथा पृष्ठपोषण पनि माग गरेको छ ।

आयोगका अध्यक्ष डा. रामकृष्ण तिमल्सेनाले संविधान र कानूनले दिएको अख्तियारी र जिम्मेवारी पूरा गर्न खस आर्य समुदायका व्यक्तिहरूको थरसमेत सूचीकरण गर्न आवश्यक भएकाले नेपाल सरकारलाई सूचीकरणका लागि सिफारिश गर्ने उद्देश्यले आयोगले प्रारम्भिक प्रतिवेदन तयार गरेको उल्लेख गरे ।

प्रतिवेदनमा सो समुदायका सबै थरहरू समेट्न नसकिएको हुन सक्छ भन्दै आयोगको वेबसाइटमार्फत् सम्बन्धित सबैलाई आवश्यक सुझाव दिन सूचना जारी गरिएको उनले बताए ।

यसमा सरोकारवाला व्यक्ति वा समुदायबाट कुनै सुझाव प्राप्त भएमा ती सुझावको अध्ययन गरी उपयुक्त सुझाव समावेश गरी अन्तिम प्रतिवेदन तयारी गर्न लागिएको उनले जानकारी दिए ।

आयोगले तयार पारेको प्रारम्भिक प्रतिवेदनमा उल्लेखित थरहरूको सूचीलाई सबै स्थानीय तहहरूमा छलफल गराई सुझाव पठाउन अनुरोध गरी पत्र पठाइसकेको एवं आयोगको वेबसाइटमा समेत सूचना प्रकाशित गरिसकेको जानकारी आयोगका सदस्य मानप्रसाद खत्रीले दिए ।

आयोगले तयार पारेको प्रारम्भिक प्रतिवेदन आयोगको वेबसाइटमा राखिएको र उक्त प्रतिवेदनमा ब्राम्हणतर्फ ३३१, क्षेत्रीतर्फ ३११,  दशनामीतर्फ २६ र ठकुरीतर्फ ४८ थर तथा गोत्र सूचीकरण गरेको छ । उक्त सूची अन्तिम नभएकोले सुधार तथा संशोधनका लागि आयोगमा निवेदन दिन समेत राष्ट्रिय समावेशी आयोगले अनुरोध गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्