
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी चुनावपछि पार्टीको विशेष महाधिवेशन गर्ने बताएका छन् ।
शुक्रवार पार्टीको महाधिवेशन स्थल कमलादीबाट निस्कने क्रममा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष दाहालले संगठनको रूपान्तरण र विचारलाई विकसित गर्नका लागि चुनावपछि विशेष महाधिवेशन आवश्यक रहेको बताए । जारी महाधिवेशनले नै सबै कुरा पूर्ण नहुने भन्दै उनले वैचारिक विकासको भने शुरूआत भएको बताए ।
चुनावपछि विशेष महाधिवेशन गरेर विचारलाई अझ विकसित गर्ने उनले बताए । उनले भने, ‘आज प्रतिवेदन जोडदार ढंगले पारित भयो । भोलि विधान पारित हुन्छ । केन्द्रीय समिति पनि भोलि नै निर्वाचित हुन्छ । फरक मत समेटियो । एउटा फरक मतलाई सम्मान गर्ने भनियो । अरु सबै समेटियो । विशेष महाधिवेशन भनेको संगठनको रूपान्तरण गर्नलाई र विचारलाई पनि अझ विकसित गर्नको लागि हामीले चुनावपछि एउटा अधिवेशन त गर्नुपर्छ । यो नै टुंगियो, यो अब सबै पूर्ण भयो भन्ने हाम्रो भनाइ छैन । एउटा ठूलो ऐतिहासिक शुरूआत वैचारिक विकासको यहाँबाट भयो । अब चुनावपछि हामी विशेष अधिवेशन गरेर अझ त्यसलाई विकसित गर्ने ।’
उनले आठौं राष्ट्रिय महाधिवेशन सभ्य र भव्य रूपमा अगाडि बढिरहेको बताए । उनले आफ्नो राजनीतिक प्रतिवेदन जोडदार ढंगले पारित भएको बताए । शनिवार विधान पारित हुने र केन्द्रीय कमिटी पनि निर्वाचित हुने उनले स्पष्ट पारे ।