
संघीय सरकारका गृहमन्त्री बालकृष्ण खाँणले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदबाट पास गर्ने दाबी गरेका छन् ।
उनले अनुदान रकम नेपालको हितमा रहेको भन्दै एमसीसी कुनै सैन्य परियोजना नभएको पनि प्रस्ट पारे ।
‘नेपालको भौतिक विकासका लागि नै हो, जलविद्युत्को ट्रान्समिसन र सडक विस्तारका लागि नै परियोजना आएको हो,’ उनले थपे, ‘यसको रकम हामीले तिर्नुपर्ने छैन, अनुदान हो । नेपालीले यसको सदुपयोग गर्नुपर्दछ, त्यसैले यो अघि बढ्नुपर्छ ।’
संसदबाट एमसीसी पास गर्न दल सहमत हुने विश्वास समेत उनले व्यक्त गरेका छन् ।
नेपाल पत्रकार महासंघ कास्कीद्वारा शुक्रवार पोखरामा आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री खाँणले अर्काे प्रसंगमा आगामी वर्ष सबै तहका निर्वाचन समयमै हुने दाबी समेत गरे ।
‘निर्वाचन शान्तिपूर्ण ढंगले समयमै हुन्छ, सरकारले त्यसका लागि शान्तिसुरक्षा प्रदान गर्नेछ,’ उनले भने, ‘स्वतन्त्र र भयमुक्त वातावरणमा जनताले मत दिएका र विश्वास पाएका प्रतिनिधि छनोट हुनेछन् ।’
पर्यटकीय नगरी पोखरा लेकसाइड क्षेत्र चौबिसैं घण्टा खुला गर्ने बताउँदै उनले आवश्यक शान्ति सुरक्षा प्रत्याभूत गर्ने गरी अघि बढ्न सुरक्षा निकाय र प्रशासनलाई निर्देशन समेत दिएका छन् ।
नेपाल भ्रमण वर्ष सन् २०२० सन्दर्भमा सरकारले देशका प्रमुख ३ पर्यटकीय गन्तव्य काठमाडौंको ठमेल, चितवनको सौराहा र पोखराको लेकसाइडलाई चौबिसै घण्टा खुला गर्ने गरी तयारी अगाडि बढाएको पनि उनले जानकारी दिए । राजधानीमा खबर छ ।