
‘म पार्टीको सभापति त हुँदैछु, सबैको सभापति बन्ने कोशिश गर्छु’ भनेर वाचा गरेको एक सातामै प्रधानमन्त्री एवं नेपाली कांग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवाले कांग्रेसभित्र गुटको विजारोपण गरेका छन् ।
‘निर्वाचनमा मलाई कसले भोट हाल्यो वा हालेन भन्ने कुराको अब अर्थ रहँदैन । म पार्टीको सभापति हुँ । सबैको सभापति हुने प्रयास गर्छु,’ पुस १० गते पार्टी केन्द्रीय कार्यालयमा नवनिर्वाचित पदाधिकारीको शपथ ग्रहण कार्यक्रममा देउवाले भनेका थिए ।
सभापतिमा निर्वाचित भएको एक महिना नपुग्दै देउवाले पदाधिकारीसँग छलफल र परामर्श नै नगरी शनिवार केन्द्रीय समितिमा १० जनालाई नियुक्त गरे ।
कांग्रेस सभापतिको रेसबाट पछि हटेका रामचन्द्र पौडेलदेखि महाधिवेशनमा पराजित भएकी सुजाता कोइरालासम्म केन्द्रीय सदस्यमा मनोनित भए ।
शुरूदेखि नै आफूलाई सभापतिमा सघाएका कृष्ण सिटौला, दोस्रो चरणको प्रतिष्पर्धामा सघाएका प्रकाशमान सिंह, विमलेन्द्र निधि, सुजाता कोइरालालाई देउवाले केन्द्रीय सदस्य मनोनयन गरेका छन् ।
आफ्नो प्यानलमा लडेर पराजित भएका विजयकुमार गच्छदार, प्रकाशशरण महतदेखि उम्मेदवारी दर्ता गरेर फिर्ता लिएका मीनबहादुर विश्वकर्मा तथा उम्मेदवारी नै नदिएका डा. नारायण खड्का र उमा रेग्मी केन्द्रीय सदस्यमा समेटिए । तर के आधारमा र कुन मापदण्डको आधारमा उनीहरू केन्द्रीय समितिमा मनोनित भए भन्ने प्रस्ट गरिएको छैन ।
देउवाले गरेको नियुक्तिलाई लिएर अहिले कांग्रेसभित्र हलचल पैदा भएको छ । उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा, सहमहामन्त्री बद्री पाण्डे र जीवन परियार लगायतका पदाधिकारी देउवाले गरेको मनोनयनप्रति रुष्ट रहेको कांग्रेस स्रोतले बतायो ।
‘कार्यकर्ताको भावनाअनुसार सभापतिज्यूले यसपटक गुटगत राजनीतिभन्दा माथि उठ्नु होला भन्ने अपेक्षा राखेका थियौं,’ कांग्रेसको पदाधिकारीका प्रतिस्पर्धा गरेका एक नेताले लोकान्तरसँग भने, ‘सबै महाधिवेशन प्रतिनिधि घर नफर्किँदै सभापतिज्यूले गुटबन्दीको शुरूआत गर्नुभयो ।’
केन्द्रीय सदस्य नियुक्तिमा देखिएको भागबण्डा भोलिको दिनमा चुनावको टिकट वितरणका बेला दोहोरिन सक्ने भन्दै संस्थापन इतरका नेताहरू सशंकित बनेका छन् ।
संस्थापन पक्ष भने केन्द्रीय सदस्यमा नियुक्ति गर्ने अधिकार विधानले सभापतिलाई दिएको र देउवाले अधिकार प्रयोग गरेको दाबी गर्छ ।
कांग्रेसको विधान २०१७ (संशोधित प्रावधान) अनुसार देउवाले केन्द्रीय समितिमा ३३ जना मनोनयन गर्न पाउँछन् ।
विजय गच्छदार योग्य, चन्द्र भण्डारी अयोग्य ?
शनिवारको मनोनयनमा सभापति देउवाले रामचन्द्र पौडेलबाहेक अधिकांश आफूलाई समर्थन गरेका नेताहरूलाई समेटेका छन् ।
आफ्नो प्यानलबाट उपसभापतिमा पराजित विजयकुमार गच्छदारलाई उपसभापति मनोनयन गरेका देउवाले डा. शेखर कोइराला प्यानलबाट उपसभापतिको उम्मेदवार बनेर सम्मानजनक मत पाएका डा. चन्द्र भण्डारीलाई उपेक्षा गरेका छन्, जबकि उपसभापतिमा भण्डारीले भन्दा आधा कम मत पाएकी सुजाता कोइराला केन्द्रीय सदस्य मनोनित भएकी छन् । एउटै पदमा प्रतिस्पर्धा गरेका एक जनालाई केन्द्रीय सदस्यमा मनोनयन गर्दा अर्को पक्षलाई छुटाइएको छ ।
‘प्रजातान्त्रिक संसारमा आफूसँग फरक मत राख्ने व्यक्तिलाई सबैभन्दा नजिकको साथीको रूपमा सम्मान गरिन्छ । प्रजातन्त्र व्यवहार हो, भाषण मात्र होइन,’ भण्डारीले कुनै सन्दर्भ उल्लेख नगरी आइतवार सामाजिक सञ्जाल फेसबूकमा लेखेका छन् ।
देउवाले आफ्नो प्यानलबाट चुनाव लडेर महामन्त्रीमा पराजित डा. प्रकाश शरण महतलाई केन्द्रीय सदस्य मनोनित गरेका छन् । तर कोइराला प्यानलबाट महामन्त्रीमा प्रतिष्पर्धा गरेका डा. मीनेन्द्र रिजाललाई उपेक्षा गरेका छन् ।
महामन्त्रीमा पराजित भएपछि रिजालले रक्षा मन्त्रीको जिम्मेवारीबाट राजीनामा गरेका थिए ।
आफ्नै प्यानलबाट महामन्त्रीमा प्रतिष्पर्धा गरेका प्रदीप पौडेललाई भने देउवाले दोस्रो चरणमा केन्द्रीय सदस्य मनोनित गरेका छन् ।
कांग्रेस पदाधिकारीमा निर्वाचित देउवा इतरका पदाधिकारीले पदाधिकारीमा प्रतिस्पर्धा गरेका नेताहरूलाई समान मापदण्डका आधारमा केन्द्रीय समितिमा मनोनयन गर्नुपर्ने सल्लाह देउवालाई दिएका थिए ।
‘कार्यकर्ताको भावनाअनुसार सबैलाई समेटेर लैजान सभापतिज्यू इच्छुक देखिनुभएन, गुटबन्दीमा रमाउन चाहने प्रवृत्तिले कांग्रेसको भलो गर्दैन,’ नवनिर्वाचित एक केन्द्रीय सदस्यले भने । अहिले केन्द्रीय सदस्यमा नियुक्त गरिएकाहरूलाई प्रवक्ता लगायतको जिम्मेवारी दिने तयारी भएको कांग्रेस स्रोत बताउँछ ।
रामचन्द्र पौडेलको लालसा
१४ औं महाधिवेशनमा संस्थापन इतरबाट सर्वसम्मत सभापतिको उम्मेदवार बन्ने सम्भावना टरेपछि रामचन्द्र पौडेलले आफूलाई सक्रिय राजनीतिबाट अलग गर्ने संकेत गरेका थिए । संस्थापन इतरबाट साझा उम्मेदवार तय गर्न नसकेकोमा पौडेल महाधिवेशन उद्घाटन कार्यक्रममा समेत सहभागी नहुने भनेर घुर्की लगाएका थिए ।
उद्घाटन सत्रमा सहभागी भएपनि पौडेल निर्वाचन प्रक्रियामा सहभागी भएनन् । पौडेलको असहयोगका कारण वर्षौंदेखि उनलाई नेता मानेर हिँडेका हृदयराम थानी केन्द्रीय सदस्यमा १ भोटले पराजित भए । रामचन्द्र पौडेल निर्वाचन प्रक्रियामा सहभागी नहुँदा उनलाई गणेशमान सिंह र कृष्णप्रसाद भट्टराई जस्तो त्यागी नेता भनेर प्रचार गरियो ।
सभापतिको उम्मेदवार बन्न नपाएका पौडेल देउवाबाट केन्द्रीय सदस्यमा मनोनित भएका छन् । निर्वाचन प्रक्रियाबाट आफू अलग भएर सभापतिका कुनै उम्मेदवारलाई सहयोग नगरेका पौडेलले मनोनित केन्द्रीय सदस्य स्वीकारेकोमा संस्थापनइतर समूहमा असन्तुष्टि देखिएको छ ।
‘हाम्रा श्रद्धेय नेता रामचन्द्र पौडेल नेकाको चौधौं महाधिवेशनको नेतृत्व छनोट प्रक्रियाबाट अलग रहने निर्णय गर्नुभो । आज केसको मनोनयनमा पर्नुभो । प्रक्रियाबाटै अलग्गिएको व्यक्ति मनोनित कसरी हुनुभो ? राजनीतिमा नैतिकताको प्रश्न उठाउने उहाँ नै हैन ? अनि साझा सभापति हुन्छु भन्ने नेताको चयन यही हो ?’ कांग्रेसका युवा नेता गुरुराज घिमिरेले सामाजिक सञ्जालमार्फत प्रश्न गरेका छन् ।
देउवाले मनोनयनमा देखाएको पक्षपातले पार्टीलाई नै हानी गर्ने कांग्रेस नेताहरू बताउँछन् ।
महाधिवेशन सम्पन्न भएको एक महिना बित्न नपाउँदै कांग्रेसमा गुटबन्दीको नयाँ शृङ्खला शुरू हुने संकेत देखिएको छ ।