
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्रोत नखुलेको नगद ५० लाख रूपैयाँसहित सिनामंगल बस्ने मोरङ विराटनगर महानगरपालिका-४ घर भएकी ३३ वर्षीया रेशा शाक्य पोखरेललाई प्रहरीले शनिवार पक्राउ गरेको छ ।
पोखरेल सौर्य एयरलाइन्स काठमाडौंमा एसिसटेन्टको रुपमा कार्यरत कर्मचारी हुन् ।
विराटनगरबाट काठमाडौं जान लागेको सौर्य एयरलाइन्सको जहाजमा सोही एयरलाइन्सका विराटनगर स्टेसन इन्चार्ज प्रकाश पौडेलले सुरक्षा जाँच समेत नगरी झोला राखेको भन्ने सूचनाको आधारमा त्रिभुवन विमानस्थल सुरक्षा कार्यालय गौचरबाट खटिएको प्रहरीले जाँच गरेको थियो । सो क्रममा उक्त झोला संकलन गर्ने पोखरेललाई स्रोत नखुलेको तथा भन्सार उद्घोषसमेत नगरेको एक हजार दरको ४ हजार ९५० थान र ५०० दरको १०० थान नोटसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
बरामद नगदसहित पोखरेललाई आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन ललितपुर पठाइएको छ ।