०३ असार २०८३, बुधबार

पर्सामा कोभिड विरुद्धको खोप अभियान पुनः सञ्चालन

पर्सामा कोभिड विरुद्धको खोप अभियान पुनः सञ्चालन
प्रतिकात्मक तस्वीर

‘कोभिड– १९ विरुद्धको खोप, हाम्रो खोप, हाम्रो सुरक्षा, खोप लगाउ सुरक्षित बनौं’ भन्ने नाराका साथ पर्सा जिल्लामा सोमवारदेखि पुनः कोभिड विरुद्धको खोप अभियान सञ्चालन गरिएको छ ।

यसअघि सञ्चालन गरिएको अभियानमा पहिलो मात्रा लिइसकेकालाई दोस्रो मात्रा वा छुटेका १८ वर्ष उमेरमाथिका सबै व्यक्तिलाई पहिलो मात्रा खोप लगाउने उद्देश्यले जिल्लाभर यस महिनाको ५/५ दिन २ चरणमा खोप अभियान सञ्चालन गरिएको हो ।

स्थानीय तहसँगको सहकार्यमा जिल्लाको सबै स्वास्थ्य संस्था तथा आवश्यकताका आधारमा तत्कालै खोप केन्द्र थप हुने गरी खोप अभियान सञ्चालन हुँदै आएको स्वास्थ्य कार्यालयका स्रोत व्यक्ति जयमोद ठाकुरले जानकारी दिए । 

जिल्ला खोप समन्वय समितिको निर्णयअनुसार सोमवारदेखि पुस २३ गतेसम्म पर्सागढी, पोखरिया नगरपालिका, सखुवाप्रसौनी, जिराभवानी, ठोरी, जगरनाथपुर र पटेर्वासुगौली गाउँपालिकामा तथा २३ देखि २७ गतेसम्म वीरगञ्ज महानगरपालिका, बहुदरमाई नगरपालिका, विन्ध्वासिनी, धोविनी, छिपहरमाई, कालिकामाई र पकाहामैनपुर गाउँपालिकामा खोप अभियान सञ्चालन हुनेछ ।

अभियानलाई अझ प्रभावकारी बनाउन वीरगञ्जका ३ वटै निजी अस्पताल, नारायणी अस्पताल र पोखरिया अस्पतालबाट समेत तोकिएको दिन खोप लगाउन पाउने व्यवस्था मिलाइएको कार्यालयले जनाएको छ ।

वीरगञ्ज महानगरपालिकाको बढी भिडभाड हुने क्षेत्र घण्टाघर चोक, नयाँ बसपार्क, आदर्शनगर चोक, भन्सार र ड्राइपोर्ट चोकमा समेत गरी ३७ वटा खोप केन्द्र स्थापना गरिएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्