
निर्यातका लागि भारतीय बजारको भर पर्दा नगदेबालीले मूल्य पाउन छाडेको छ। भारतीय बजारको भरपर्दा अलैंची, अदुवा, अम्रिसो कुचो र चिराइतोको मूल्य बर्सेनि गिरावट भइरहेको छ। नेपालमा उत्पादन भएका नगदेबाली काँकडभिट्टा नाका हुँदै भारत जाने गरेको छ।
‘अलैंचीको मूल्य ७ वर्षअघिको तुलनामा आधाभन्दा तल झरेको छ,’ अलैंची व्यवसायी संघ पाँचथरका अध्यक्ष खेमनाथ अधिकारी भन्छन्, ‘अरू बालीको अवस्था पनि उही छ।’ मूल्य घटेसँगै खरिद बिक्रीमा समेत समस्या हुन थालेको उनले बताए। भारतीय बजारको विकल्प नभएपछि मूल्य निर्धारणमा पनि उसले एकाधिकार जमाएको पाँचथरका अदुवा व्यापारी नारायण कोइरालाले बताए।
प्रतिमन ६ हजार रुपैयाँसम्म पुगेको अदुवाको मूल्य अहिले ५ सय रुपैयाँ छ। प्रतिकिलो २ सयमा कुचो बिक्री गरेका किसान अहिले सय रुपैयाँमा बेच्दैछन्। यस्तै प्रतिमन १ लाख २० हजार रुपैयाँसम्म पुगेको अलैंची अहिले ४० हजार रुपैयाँभन्दा कम मूल्यमा बिक्री भइरहेको छ। चिराइतो प्रतिमन ४० हजार पुगेको थियो। यस वर्ष १५ हजार रुपैयाँमै बिक्री गर्न बाध्य भएको कृषक बताउँछन्। नेपाली बजारमा नगदेबालीको खपत ज्यादै कम र प्रशोधन गर्ने उद्योगसमेत छैन। सोही कारण भारतले यहाँका कृषि उपजको गुणस्तरमा दोष देखाउँदै मूल्य कम निर्धारण गर्ने गरेको छ। ‘मूल्य कम मात्रै होइन। अदुवा त बिक्री नै नहुने अवस्था आइसक्यो,’ नागिनका किसान गोपाल अधिकारीले भने, ‘पछिल्लो समय कसैले पनि किन्न मानेका छैनन्।’ अधिकारीले १० मन अदुवा लगाएका थिए। बिक्री नभएपछि खनेर बारीमै थुपारेको उनी बताउँछन्। ‘अदुवा कुहिन थालिसक्यो। किन्ने कोही आउँदैन,’ उनले भने। अन्नपूर्ण पोस्ट दैनिकमा भीमकुमार बाँस्कोटाले खबर लेखेका छन् ।