महोत्तरी लगायत तराईका जिल्लामा शीतलहरका कारण जनजीवन प्रभावित भएको छ ।
लगातारको शीतलहर, हुस्सु र बाक्लो कुहिरोले जनजीवनसहित पशुपन्छी तथा बालीनाली समेत प्रभावित भएको छ ।
चिसोकै कारण अहिले जिल्ला सदरमुकाम जलेश्वरसहित जिल्लाको शहरी तथा ग्रामीण भेगमा आवतजावतमा कमी आएको जनाइएको छ ।
जिल्लाको विभिन्न बजारमा बाक्लो ऊनी कपडाहरूको बिक्रीमा बढोत्तरी भएको छ भने चिसोकै कारण जिल्लाको हाट बजारमा मानिसहरूको उपस्थिति न्यून छ ।
चिसोकै कारण जिल्लाका स्वास्थ्य केन्द्रहरू लगायत जिल्ला अस्पतालमा विभिन्न किसिमका बिरामीका संख्यामा वृद्धि भएको चिकित्सक बताउँछन् ।
लगातार बढ्दै गएको जाडोबाट सबैभन्दा बढी बालबालिका, वृद्धवृद्धा र सुत्केरी बढी प्रभावित भएका छन् । आर्थिक रूपले कमजोर व्यक्तिहरू समेत बढ्दै गएको जाडोको प्रत्यक्ष मारमा परेका छन् ।
चिसोको कारण बालबालिका, वृद्धवृद्धा र सुत्केरीमा रुघा, ज्वरो, दम, हातगोडा सुनिने, दुख्ने लगायतका समस्या देखिएको स्वास्थ्यकर्मीहरू बताउँछन् । १० नगरपालिका र ५ गाउँपालिका रहेको महोत्तरीका विभिन्न गाउँ बस्तीमा जाडोबाट बच्नका लागि ठाउँठाउँमा स्थानीयले आगो बालेर ताप्ने गरेको देखिन्छ ।
यसैबीच, जाडोकै कारण ग्रामीण भेगमा वस्तुभाउलाई पनि समस्या भइरहेको तथा किसानहरू पनि दलहन, तेलहन र तरकारी बालीमा प्रतिकूल असर परिरहेकामा चिन्तित भएका छन् । जिल्लामा जाडो बढेको करीब ३ हप्ता हुन लाग्दा पनि स्थानीय पालिकाद्वारा हालसम्म जाडोबाट बचाउनका लागि सहयोग गरेका छैनन् ।
विभिन्न संघसंस्था, जिल्लाको दैवी प्रकोप व्यवस्थापन समिति, नेपाल रेडक्रस लगायतले आ–आफ्नो पूर्व तयारी थालेका थिए । गत वर्ष जाडो शुरू हुनासाथ प्रभावित गाउँबस्तीमा न्यानो बाँड्ने काम गरे पनि पनि यस वर्ष अहिलेसम्म कसैको कुनै पहल नदेखिएको जनगुनासो छ ।
गत वर्ष जिल्लामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीले जाडोयाममा सदरमुकाम जलेश्वरसहित जिल्लाको विभिन्न बस्तीमा दाउरा वितरण गरेका थिए ।