२३ जेठ २०८३, शनिबार

प्रचण्ड देशकै अभिभावक हुन् : देव गुरुङ

प्रचण्ड देशकै अभिभावक हुन् : देव गुरुङ

नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले पार्टी र देशकै अभिभावकको रूपमा रहेकाले पार्टीमा पुरानो नेतृत्वलाई नै निरन्तरता दिएको बताएका छन् ।

नेता गुरुङले पार्टी र देशकै अभिभावक भएकाले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नै पार्टी नेतृत्वको जिम्मेवारी दिएको बताए ।

उनले पार्टीमा अन्य पदाधिकारीहरू कस्तो बनाउने भन्ने कुरा पार्टी अध्यक्ष र पार्टी कमिटीको भएकाले सक्षम व्यक्तिहरूलाई चयन गरेर नेतृत्व दिनुपर्ने बताए ।

बुधवार न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा नेता गुरुङले आउँदो पुस २५ गते बस्ने पार्टी कमिटीको बैठकले पदाधिकारीबारे टुंगो लगाउने पनि जानकारी दिए । उनले पदाधिकारी चयनको विषयमा केही गृहकार्य बाँकी रहेकाले सबैको राय, परामर्श, सुझाव लिएर अगाडि बढ्नुपर्ने बताए ।

नेता गुरुङले भने, ‘पार्टीको निर्माणको प्रक्रियामा आन्दोलनको आवश्यकताअनुसार, परिस्थितिअनुसार कहिले एकल पदको अभ्यास, कहिले बहुपदको अभ्यास गर्दै जानुपर्छ भन्ने नै हो । पार्टी क्रान्तिको एउटा साधन हो, साध्य होइन । साधन भएको हुनाले साधनलाई मुलुकको आन्दोलनको, क्रान्तिको आवश्यक्ता र लचकतामा नै सञ्चालन र परिचालन गर्दै लैजाने विषय हो । यो साधन निर्माण गर्ने प्रक्रियामा कहिले बहुपद, कहिले एकल पदको अभ्यास हुँदै आइरहेको छ । अहिलेको पछिल्लो समयको परिस्थिति हेर्दा शान्तिपूर्ण रुपले निर्वाचनको प्रक्रियाबाट जानुपर्ने, संसदको प्रक्रियाबाट जानुपर्ने, कहिलेकाहीँ सरकारको प्रक्रियाबाट जानुपर्ने, यी सबै सडकदेखि सरकारसम्मका सबै प्रक्रियाबाट जानुपर्ने अवस्थामा सायद एकल पदभन्दा पनि बहुपद नै उपयुक्त हुन्छ कि भन्ने कुरा उठेर विधानमा बहुपदको व्यवस्था गरिएको हो र लिडरशीपको सन्दर्भमा अहिलेसम्मको आन्दोलनको प्रक्रियाबाट हेर्दा जनयुद्धभन्दा पूर्वदेखि जनयुद्धको १० वर्ष शान्ति प्रक्रिया, सबै प्रक्रियामा नेतृत्व गर्दै आइरहेको एउटा पुरानो निरन्तरताको लिडरशीप मुलुककै निम्ति एउटा अभिभावक जस्तो, संरक्षक जस्तो नेतृत्व रहेको हुनाले लिडरशीपको सन्दर्भमा उहाँकै नेतृत्व भएको कुरा स्वाभाविक कुरा हो । अरु लिडरशीपहरूको टीम बनाउने सन्दर्भमा पनि सामूहिक अभिव्यक्तिको केन्द्रिकृत अभिव्यक्ति अध्यक्षबाट नै हुने भएकोले उहाँले नै टीम बनाउने कुरा हो । कस्तो टीम बनाएर जाँदा उपयुक्त हुन्छ भन्ने कुरा उहाँले नै बनाउने कुरा हो । पार्टी कमिटीमा छलफल गरेर, पार्टी कमिटीले निर्णय गर्ने विषय हो । त्यो रुपले अघि बढ्ने क्रममा थोरै गृहकार्य सायद जरुरी परेको होला भन्ने लाग्छ । थोरै गृहकार्य गर्ने क्रममा थोरै लेट भइरहेको अवस्था छ । सबैको राय, परामर्श, सुझाव लिएर अगाडि बढ्नुपर्छ भन्ने क्रममा लेट भएको हुनुपर्छ । पछिल्लो समयमा पदाधिकारी गठनको सन्दर्भमा स्थायी समितिकै सदस्य बाहिर उपचारमा रहनुभएकोले वर्षमान जी उपचारमा नै रहनुभएकोले उहाँले म नफर्कंदासम्म पदाधिकारी नबनाइयोस्, मेरो पनि दाबी बिरोध रहन्छ, भन्ने प्रकारको कुरा रहेकोले सायद अलिकति वेटिङ सीको रुपमा गएको हुनसक्छ । मलाई लाग्छ २५ गते मिटिङ बस्ने भनिएको छ, त्यसमा टुंगोमा पुग्ला भन्ने लाग्छ ।’

नेता गुरुङले वर्षमान पुन ‘अनन्त’ र जनार्दन शर्मा ‘प्रभाकर’को महासचिवमा दाबेदारी आइरहेकाले सहमतिमा लैजाने प्रयास भइरहेको बताए । उनले सहमतिमा जान नसकेमा वरिष्ठ नेताहरूबाट सहमतिमा जाने कुरा चलेकोले महासचिवमा आफ्नो नाममा प्रस्ताव आएको पनि बताए । नेता गुरुङले आफूले हालसम्म पार्टीका कुनै पदमा दाबी नगरेको भन्दै सहमति मिलाउन महासचिव बन्ने प्रस्ताव आए अस्वीकार नगर्ने र तोकिएको जिम्मेवारी पूरा गर्न तयार रहेको स्पष्ट पारे ।

नेता गुरुङले पार्टीका पदाधिकारीका लागि निर्वाचन गरिनु नहुने भन्दै पदाधिकारीहरू सहमतिमै चयन गर्न आग्रह गरे । उनले पदाधिकारीका लागि गरिएको निर्वाचनले क्षणिक समय लाभ मिले पनि अन्ततः पार्टी विघटनको स्थितिमा पुग्ने दाबी गरे । 

salt training

कमेन्ट गर्नुहोस्