
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय सभाको निर्वाचनबाट शुरू भएको गठबन्धनको सहकार्यले अरु निर्वाचनमा समेत निरन्तरता पाउने बताएका छन् ।
नेकपा एमाले शंखरापुर–२ मा बुधवार आयोजित कार्यक्रममा उनले गठबन्धनका दलहरूबीच आगामी सबै निर्वाचनमा मिलेर जाने गरी कुराकानी भइरहेको बताए ।
अध्यक्ष नेपालले नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र पनि मिलेर जान सहमत रहेको उल्लेख गर्दै आफ्नो पार्टीमा प्रवेशको लहर चलेको र कतिपय दलहरू समाहित हुन आइरहेका बताए ।
उनले भने, ‘ठूलो संख्यामा संगठित सदस्य रहेका दलहरू पनि समाहित भइरहेका छन् ।’
अध्यक्ष नेपालले आफू निर्वाचित हुँदा र नहुँदा दुवै अवस्थामा आफूले काठमाडौं २ नम्बर क्षेत्रको विकासमा चासो र अग्रसरता लिँदै आएको बताउँदै काठमाडौं जिल्ला भए पनि कर्णालीका रूपमा रहेको शंखरापुर–२ मा सडकलगायत पूर्वाधार निर्माणमा आफूले अग्रसरता लिँदै आएको दाबी गरे ।
‘आफ्नो क्षेत्रमा कोटेश्वरदेखि लिएर भक्तपुर सिन्धुपाल्चोकको सीमासम्म र विकसितदेखि अविकसित ठाउँसम्म रहेको छ,’ उनले भने, ‘त्यस क्षेत्रमा सडक, पार्क, विद्यालय भवनलगायत पूर्वाधार निर्माणमा आफ्नो सहयोग निरन्तर रहने छ ।’
कार्यक्रममा उनले नेकपा एमाले शंखरापुर–२ का वडा सचिव सोमबहादुर ‘सुमन’ लामा लगायतलाई पार्टी प्रवेश गराएका थिए ।