३० असार २०८३, मंगलबार

निरन्तर बढेको शेयर बजारमा ब्रेक, ३० अंकले घट्यो नेप्से

निरन्तर बढेको शेयर बजारमा ब्रेक, ३० अंकले घट्यो नेप्से

तीन दिनयता लगातार रुपमा उच्च अंकमा बढेको शेयर बजार मापक नेप्से परिसूचक बुधबार ब्रेक लागेको छ । 

तीन दिनमा १५५ अंकले बढेर २ हजार ६ सय बिन्दुमाथि पुगेको नेप्से परिसूचक आज ३० अंकले गिरावट आएको छ ।

साताको पहिलो कारोवार आइतबार ६० अंकले बढेको नेप्से सोमबार पनि त्यसैको निरन्तरता स्वरुप ३२ अंकले बढेको थियो । मंगलबार नेप्से परिसूचक ६३.०१ अंकले बढ्यो ।

तर बुधवार नेप्से परिसूचक ३०.७५ अंकले गिरावट आएर २ हजार ६४९.२० बिन्दुमा झरेको छ ।

त्यस्तै ठूला कम्पनीको शेयर मूल्य मापक गर्ने सेन्सेटिभ इण्डेक्स पनि ६.६८ अंक, फ्लोट इण्डेक्स २.३६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.७५ अंकले गिरावट आएको छ ।

बुधवार कारोवारमा आएका २३६ कम्पनीको ९५ लाख ५९ हजार ४२९ कित्ता शेयर ४ अर्ब ६२ करोड १५ लाख ९८ हजार ५८३ रुपैयाँको शेयर कारोवार भएको छ ।

मंगलवार ४ अर्ब ३२ करोड २६ लाख ९ हजार ८२७ रुपैयाँको शेयर कारोवार भएको थियो । कारोवार रकम भने मंगलबारको तुलनामा बढेको छ ।

नेप्सेका १३ उपसमूहमध्ये जलविद्युत र फाइनान्स बाहेक अन्य सबै उपसमूह राताम्मे भएको छ । जसमध्ये जलविद्युत उपसमूह ०.४९ प्रतिशत र फाइनान्स उपसमूह ०.१ प्रतिशतले बढेको छ ।

होटल तथा पर्यटन उपसमूहको परिसूचक २.२१ प्रतिशतले गिरावट आएको छ । उत्पादन तथा प्रशोधन उपसमूह १.७४ प्रतिशत, विकास बैंक उपसमूहको परिसूचक १.७१ प्रतिशतले गिरावट आएको छ।

त्यस्तै, बैंकिङ्ग, वित्त, लगानी उपसमूह र अन्य उपसमूहको परिसूचक करीब १ प्रतिशतले गिरावट आएको छ ।

नेप्सेमा गिरावट आए पनि आज मध्य भोटेकोशी जलविद्युत कम्पनीको शेयर मूल्य ९.९६ प्रतिशतले बढेर प्रतिकित्ता २१४.२० रुपैयाँ पुगेको छ ।

त्यस्तै विजया लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ४.५५ प्रतिशतले सबैभन्दा धेरैले घटेको छ ।

आज कारोवार रकमको आधारमा सबैभन्दा धेरै शिवम् सिमेन्टको १८ करोड ७२ लाख रुपैयाँ बराबरको सेयर कारोवार भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्