
पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमण ४३५ जनामा देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधवार आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. संगीताकौशल मिश्राले १० हजार २६७ जनाको परीक्षण गर्दा ४३५ जनामा संक्रमण देखिएको जानकारी दिइन् ।
उनका अनुसार हालसम्म ५ हजार २२५ जना सक्रिय संक्रमित रहेका छन् । पछिल्लो समय थप २३९ जना कोरोनाबाट निको भएर घर फर्किएका उनले बताइन् ।
यससँगै निको हुनेको संख्या ८ लाख १३ हजार १७६ पुगेको छ । निको हुने दर ९८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
प्रवक्ता डा. मिश्राले पछिल्लो २४ घण्टामा संक्रमणबाट कसैको पनि निधन नभएको जानकारी दिइन् । हालसम्म ११ हजार ६०१ जनाको संक्रमणका कारणले निधन भएकोे छ । उनका अनुसार ५०० भन्दा बढी संक्रमण भएको जिल्ला काठमाडौं, ललितपुर र भक्तपुर रहेका छन् । २०० भन्दा बढी संक्रमित भएका जिल्लामा सुनसरी, कास्की, बाँके र कैलाली रहेका छन् ।
शून्य संक्रमित भएका जिल्लामा रसुवा, मनाङ, मुस्ताङ, हुम्ला र मुगु रहेका छन् । नेपालमा संक्रमण दर १७ प्रतिशत रहेको छ । हाल होम आइसोलेसनमा ४ हजार ८५२, संस्थागत आइसोलेसनमा ३७३, आईसीयूमा ८४ र भेन्टिलेटरमा १४ जनाको उपचार भइरहेको छ ।