
नेकपा माओवादी केन्द्रलाई महासचिव छान्न सकस परेको छ । पार्टीभित्र महासचिवमा सहमति जुटाउन नसक्दा पदाधिकारी नै चयन हुन सकेको छैन । पार्टीका दुई नेताहरु वर्षमान पुन र जनार्दन शर्माबीच महासचिवमा दावी नछाड्दा सहमति हुन नसकेको हो । यही बीचमा अर्का नेता देव गुरुङले पनि आफ्नो दावी पेश गरेका छन् । दुई नेताबीच सहमति नहुँदा अध्यक्ष प्रचण्डले गुरुङलाई महासचिवमा अघि सार्ने बताएका छन् । सोही अनुसार आफूलाई प्रस्ताव आएको गुरुङको भनाइ छ ।
आफूले हालसम्म पार्टीका कुनै पदमा दाबी नगरेको भन्दै सहमति मिलाउन महासचिव बन्ने प्रस्ताव आए अस्वीकार नगर्ने र तोकिएको जिम्मेवारी पूरा गर्न तयार रहेको उनले स्पष्ट पारे । माओवादीको केन्द्रीय कमिटी पुस २५ मा बोलाइएको छ । सोही बैठकबाट पदाधिकारीको टुंगो लगाउन प्रयास हुनेछ ।
००००
नेपाली काँग्रेसभित्र सत्ता गठबन्धनबीच नै गठबन्धन बनाएर चुनावमा जाने कि नजाने भन्नेमा दुई धार देखिएको छ। शेखर कोइराला समूह पार्टीलाई बलियो बनाएर एक्लै चुनाव लड्नुपर्ने पक्षमा देखिएको छ भने देउवाचाहिँ गठबन्धन निरन्तर हुने पक्षमा छन् ।
कोइराला समूहको बैठकमा महामन्त्री गगन थापाले राष्ट्रियसभाको चुनावसँगै चुनावी गठबन्धनको औचित्य सकिने र त्यसपछि पार्टी एक्लै चुनावमा जाने बताएका छन् । उनले सत्ता गठबन्धन र चुनावी गठबन्धन फरक भएको पनि बताएका छन् ।
यता सहमहामन्त्री महेन्द्र यादवले भने गठबन्धन गरेर एमालेलाई एक सिट पनि जित्न नदिने बताएका छन् । बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले अहिलेको सत्ता गठबन्धनबीच चुनावमा पनि सहकार्य हुने प्रष्ट पारे ।
००००
पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमण ४३५ जनामा देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधवार आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा। संगीताकौशल मिश्राले १० हजार २६७ जनाको परीक्षण गर्दा ४३५ जनामा संक्रमण देखिएको जानकारी दिइन् ।
००००
तीन दिनयता लगातार रुपमा उच्च अंकमा बढेको शेयर बजार मापक नेप्से परिसूचक बुधबार ब्रेक लागेको छ ।
तीन दिनमा १५५ अंकले बढेर २ हजार ६ सय बिन्दुमाथि पुगेको नेप्से परिसूचक आज ३० अंकले गिरावट आएको छ ।
००००
सरकारले रोजगारदाता मुलुकबाट २०७६ फागुनअघि वैदेशिक रोजगारीमा नेपाली श्रमिक पठाउन प्राप्त भएका मागपत्र कार्यान्वयनका लागि छ महिनाको म्याद दिएको छ ।
कोरोना भाइरस महामारीअघि प्राप्त भएका डिमान्ड पुनः प्रमाणीकरण गर्न खर्चिलो, झन्झटिलो र असम्भव प्रायः भएकाले व्यावहारिक कठिनाइका कारण छ महिना कामदार पठाउन पाउने गरी म्याद थप गरिएको श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले जानकारी दिए ।
००००
सरकारले चिकित्सा शिक्षा आयोगबाट निर्धारितभन्दा बढी शुल्क लिने मेडिकल कलेजको सम्बन्धन खारेज गर्ने जनाएको छ । विभिन्न कलेजले बढी शुल्क लिने गरेको गुनासो आएको सन्दर्भमा मन्त्रालयले पटक–पटकको निर्देशन अवज्ञा गर्ने मेडिकल कलेजको समबन्धन खारेज गर्ने चेतावनी दिएको हो ।
००००
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनतालाई प्रभावकारी रूपमा आधारभूत सेवा उपलब्ध गराउनु सरकारको कर्तव्य भएको बताउँदै यसमा लाग्न सबैलाई आग्रह गरेका छन् ।
सरकारको साझा न्यूनतम कार्यक्रमको कार्यान्वयन, विकास प्राथमिकता चालू आर्थिक वर्षको ५ महिनाको प्रगति र सुशासन प्रवद्र्धन सम्बन्धमा नेपाल सरकारका सबै मन्त्री र सचिवलाई निर्देशन दिँदै बुधवार उनले सो कुरा बताए ।
००००
सरकारले उखुको मूल्य निर्धारण गरेको छ ।
बुधवारको मन्त्रिपरिषद् बैठकले उखुको मूल्य प्रतिमेट्रिक टन ५९० रुपैयाँ निर्धारण गरेको छ । भारतबाट मल किन्ने निर्णय पनि सरकारले गरेको छ ।
००००
२ नम्बर प्रदेशकी आन्तरिक मामिला तथा सञ्चार राज्यमन्त्री रुबीकुमारी कर्ण सवार स्कारपियो गाडी सप्तरीको विष्णुपुर गाउँपालिकामा बुधवार साँझ दुर्घटनामा परेको छ ।
विष्णुपुर–७ नहर चोकस्थित भित्री सडकखण्डमा ज१झ ४०६ नम्बरको गाडीले नियन्त्रण गुमाउँदा दुर्घटना भएको राज्यमन्त्री कर्णले जानकारी दिइन् । दुर्घटनामा सबै सुरक्षित छन् ।