
अन्ततः नेपाली कांग्रेसको संस्थापनइतर समूहबाट रामचन्द्र पौडेल र शशांक कोइराला ‘आउट’ भएका छन् ।
पार्टीको १४औं महाधिवेशनमा सभापतिका उम्मेदवार बनेर दोस्रो चरणको निर्वाचनमा पराजित भएका डा. शेखर कोइरालाले संस्थापनइतर समूहको नेतृत्व लिएका छन् ।
महाधिवेशनमा आफ्नो प्यानलबाट केन्द्रीय पदाधिकारी, सदस्य र प्रदेश सभाको सभापतिका उम्मेदवार बनेका नेताहरूलाई बोलाएर उनले १४औं महाधिवेनको समीक्षा गरेका छन् ।
काठमाडौंको हनुमानस्थान नजिकै रहेको बसेरा बुटिक होटलमा भेला भएका शेखर प्यानलका उम्मेदवारहरूले शेखर समूहको आगामी रणनीति पनि तयार गरेका छन् ।
भेलालाई सम्बोधन गर्दै डा. शेखर कोइरालाले आगामी १५औं महाधिवेशनमा सभापतिको उम्मेदवार हुने गरी अगाडि बढ्ने संकेतसँगै ५ वर्ष संस्थापन पक्षले एकलौटी गर्न खोजे त्यसविरुद्ध शसक्त आवाज उठाउने उद्घोष पनि गरेका छन् ।
भेलाको शुरूमा सम्बोधन गर्दै कोइरालाले भनेका छन्, ‘पार्टीमा काम गर्ने निष्ठावान, इमान्दार, त्यागी र सक्षम नेता कार्यकर्तालाई नियोजित किसिमले पाखा लगाउने कामविरुद्ध हामीले डटेर आवाज उठाउनुपर्छ ।’
उनले भनेका छन्, ‘कांग्रेस एकताको सन्देश र रूपान्तरणको सन्देश बोकेर नेपाली जनताको विश्वास र भरोसाको कांग्रेस निर्माणको अभियानमा जानेछौं । हामी थाक्ने छैनौं र विश्राम लिने छैनौं । हामी कुनै पनि कार्यकर्ता साथीहरूको शिर झुक्न दिने छैनौं र निराश हुन दिने छैनौं ।’
डा. कोइरालाले बसेरा होटलबाट आफ्नो साथमा रहेका कांग्रेस नेता कार्यकर्ताको अभिभावकीय जिम्मेवारी लिने संकेत दिएका छन् । पार्टीमा अवसरको न्यायोचित वितरण हुनुपर्ने र कार्यकर्ताको भावना यथोचित रूपमा सम्बोधन हुनुपर्ने कोइरालाको तर्क छ ।
बुधवार बसेरा होटलमा आयोजना गरेको भेला नै आफैंमा कोइरालाको नेतृत्वमा कांग्रेसमा सशक्त प्रतिपक्ष रहेको सन्देश दिएको र जसको नेतृत्व शेखर कोइरालाले गरेको बताइएको छ ।
रामचन्द्र र शशांक समेटिएनन्
नेपाली कांग्रेसको १४औं महाधिवेशनअघि पार्टीमा संस्थापनइतर समूहको नेतृत्व गर्थे तत्कालीन वरिष्ठ नेता रामचन्द्र पौडेलले । पार्टीमा सभापतिले अवसरको बाँडफाँटमा एकलौटी गर्दा पौडेल नै सबैभन्दा पहिले प्रतिवादमा उत्रिन्थे ।
१४औं महाधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवाइतर खेमाको साझा उम्मेदवार बनाउने र उनलाई पार्टी सभापतिबाट बिदा गर्ने उद्घोष पनि पौडेलले गरेका थिए ।
१३औं महाधिवेशनमा सभापति उम्मेदवार भएका पौडेल देउवासँग पराजित भएका थिए । त्यसयता पार्टीमा सभापति देउवासँग उनको लडाइँ चलिरह्यो ।
पौडेललाई त्यसबेला तत्कालीन महामन्त्री शशांक कोइराला, केन्द्रीय सदस्यहरू प्रकाशमान सिंह तथा शेखर कोइरालाले साथ दिएका थिए ।
१४औं महाधिवेशनको संघारमा पुग्दा यी चारै जना नेता सभापति पदका आकांक्षी बनेका थिए ।
अन्तिम समयमा रामचन्द्र पौडेल र शशांक कोइराला सभापति उम्मेदवारको दौडबाट पछि हटे तर प्रकाशमान सिंहले दाबी नछाडेपछि संस्थापन इतरबाट सभापतिमा साझा उम्मेदवार बन्न सकेनन् । प्रकाशन सिंहले दोस्रो चरणको निर्वाचनमा शेरबहादुर देउवालाई समर्थन गरेका थिए ।
सभापतिको दौडबाट पछि हटेका रामचन्द्र र शशांकले शेखरलाई सघाउँछन् भन्ने उनी पक्षका नेता कार्यकर्ताको आशा थियो । त्यस विपरीत उनीहरूले निर्वाचनको बेला तटस्थ बस्ने भनिदिए तर व्यवहार तटस्थ भएन ।
रामचन्द्र, शशांक र सिंह तीनै जना नेताले शेखरलाई ‘जुनियर’ करार गरेर सभापतिको दौडमा अवरोधक बनेको शेखर पक्षका नेताहरूको विश्लेषण छ ।
शेखरलाई सभापति जिताउँदा पार्टीमा आफ्नो अस्तित्व गुम्ने चिन्ता ती नेताहरूलाई भयो र अन्ततः शेरबहादुर देउवालाई सभापति बनाउनु ठीक ठाने ।
रामचन्द्र र शशांकको भूमिकाबाट शेखर कोइराला आफैं र उनी पक्षबाट उम्मेदवार बनेका नेताहरू बिच्किएका छन् ।
रामचन्द्र र शशांकले मात्रै सघाएको भए पनि महाधिवेशन निर्वाचनको तस्वीर अर्कै बन्ने उनीहरूको बुझाइ छ ।
कांग्रेस सभापतिमा निर्वाचित भएपछि शेरबहादुर देउवाले शुरूमै रामचन्द्र पौडेललाई केन्द्रीय सदस्य मनोनित गरेबाट पनि पौडेलले चुनावमा देउवालाई सघाएको पुष्टि हुने शेखर पक्षका नेताहरू बताउँछन् ।
त्यति मात्रै होइन, सभापति देउवाले निर्वाचनका क्रममा शेखरले ल्याएको मतलाई अवमूल्यन गरिदिएका छन् । पार्टीमा वरीयता निर्धारण गर्दा शेखरलाई २०औं स्थानमा राखेका छन् ।
शेखर कोइराला समूहले आगामी रणनीति बनाउनका लागि बोलाएको छलफलमा रामचन्द्र र शशांकलाई आमन्त्रण गरिएको छैन ।
बसेरा होटलमा बसेर शेखर समूहले संस्थापनइतर समूहबाट रामचन्द्र पौडेल र शशांक कोइराला ‘आउट’ भएको संकेत दिएको छ ।
र प्रकाशमान सिंह ...
१४औं महाधिवेशनअघि संस्थापन समूहमै रहेका प्रकाशमान सिंह सभापतिमा पराजित भए । उनी केन्द्रीय सदस्य मनोनित भए तर संस्थापनइतर समूहबाट उनी पनि बाहिरिएका छन् ।
निर्वाचनका क्रममा शेखरलाई ‘जुनियर नेता’ भन्ने अभिव्यक्ति दिएका सिंहले सरकारमा उपप्रधानमन्त्री ‘बार्गेनिङ’ गरेर शेरबहादुर देउवालाई सघाएका थिए । शेखर समूहमा रहेका नेता कार्यकर्ताले अहिले सिंहको नाम समेत सुन्न चाहँदैनन् ।
१४औं महाधिवेशनयता सिंह पनि सभापति शेरबहादुर देउवा पक्षका बनेर संस्थापनइतर समूहबाट बाहिरिएका छन् ।