
सत्तारुढ गठबन्धनले माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई विजयी गराउन प्रदेशस्तरमा संयन्त्र गठन गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहीवार बसेको सरकार सञ्चालनका लागि सहजीकरण गर्न बनेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले प्रदेश तहमा संयन्त्र विस्तार गर्ने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता समेत रहेका कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई विजयी गराउन सातवटै प्रदेशमा पाँच दलीय संयन्त्र बनाउने निर्णय भएको जानकारी दिए ।
बैठकमा संयन्त्रका संयोजक रामचन्द्र पौडेलले संसद गतिरोध हटाउन एमाले अध्यक्ष केपी शर्मा ओलीसँग बुधवार भएको भेटवार्ताबारे समेत जानकारी गराएका थिए ।
बैठकमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायत पाँच दलीय गठबन्धनका शीर्ष नेता सहभागी थिए । राष्ट्रिय सभा निर्वाचनका लागि गठबन्धनले भागबण्डा गरेर उम्मेदवारी दिएका छन् ।