०८ असार २०८३, सोमबार

विद्यार्थीलाई तालिम दिँदै राष्ट्रिय सेवा दल

विद्यार्थीलाई तालिम दिँदै राष्ट्रिय सेवा दल

राष्ट्रिय सेवा दल (एनसीसी) ले देशभरका विभिन्न विद्यालयका विद्यार्थीका लागि तालिम सञ्चालन गरिरहेको छ ।

नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले तालिम सञ्चालनबारे जानकारी दिएको छ ।

देशका विभिन्न जिल्लाका उच्च माध्यमिक विद्यालयहरूमा सिनियर डिभिजन तालिम तथा माध्यमिक विद्यालयहरूमा जुनियर डिभिजन तालिम सञ्चालन भइरहेको छ ।

सरकारको प्राथमिकता प्राप्त तालिमको पहिलो चरणमा हाल देशभरका ७ हजार ७४० छात्रछात्रा तालिमरत रहेका निर्देशनालयले जनाएको छ । विद्यालयहरूमा राष्ट्रिय सेवा दलबाट शिक्षकहरू खटिएर सञ्चालन भइरहेका तालिमहरू पुस २९ गते समापन हुने जनाइएको छ ।

दोस्रो चरणमा सेवा दल अन्तर्गत रहेका ४ वटा शिक्षालयमा संस्थागत तालिम गरेका विद्यार्थीलाई एकत्रित गराई आगामी माघ ५ गतेदेखि चैत्र २० गतेसम्म विभिन्न चरणमा १६/१६ दिनको सामूहिक क्याम्प सञ्चालन गर्ने योजना छ ।

उच्च माध्यमिक विद्यालयका विद्यार्थीलाई समावेश गरी सञ्चालन भइरहेको पहिलो चरणको सिनियर डिभिजन तालिमका विद्यार्थीलाई तालिमको दौरान विभिन्न साहसिक तालिमहरू (फायरिङ, घोडचढी, रक क्लाइम्बिङ) समेत प्रदान गरिएको थियो । 

सेवा दलका कार्यकारी महानिर्देशकद्वारा पुस २० र २१ गते सिनियर डिभिजन तालिम सञ्चालन भइरहेका उपत्यका भित्रका विद्यालयहरू (विश्वनिकेतन उच्च मावि, सैनिक आवासीय महाविद्यालय भक्तपुर, पद्मा मावि भक्तपुर, बागेश्वरी मावि भक्तपुर) मा निरीक्षण गरेर तालिमरत क्याडेट छात्रछात्रासँग अन्तर्क्रिया तथा सम्बोधन समेत गरेका थिए ।

उनले ललितपुर तथा उपत्यका बाहिरका विभिन्न विद्यालयमा सञ्चालन भइरहेका सिनियर डिभिजन तालिममा तालिमरत क्याडेटहरूलाई अन्तर्क्रिया तथा सम्बोधन गर्ने योजना रहेको व्यहोरा समेत जानकारी गराइएको निर्देशनालयले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्