३० जेठ २०८३, शनिबार

राष्ट्रिय आविष्कार केन्द्रलाई इजरायली सरकारको सहयोग

राष्ट्रिय आविष्कार केन्द्रलाई इजरायली सरकारको सहयोग

इजरायली सरकारले महाविर पुनले सञ्चालन गरेको राष्ट्रिय आविष्कार केन्द्रलाई उच्च प्रविधिको ल्याब सहयोग गरेको छ ।

बिहीवार आविष्कार केन्द्रमा पुगेर नेपालका लागि इजरायली राजदूत हनान गोडेरले आविष्कार केन्द्रका प्रमुख महाविर पुनलाई ल्याब हस्तान्तरण गरे ।

ल्याबमा बसेर विश्वका विभिन्न देशका विज्ञ तथा वैज्ञानिकहरूसँग पछिल्लो समय विज्ञान र प्रविधिको क्षेत्रमा भएको प्रगतिहरूको सम्बन्धमा छलफल गर्न सकिने जनाइएको छ ।

‘हाइटेक क्लास रूम’को नाम दिइएको ल्याबमा बसेर एकअर्काको ज्ञान तथा सीप आदानप्रदान गर्न सकिने आविष्कार केन्द्रका प्रमुख महाविर पुनले बताए । सो ल्याबलाई विश्वमा छिटोभन्दा छिटो विकास भइरहेका प्रविधिहरूबारे सर्वसाधारणलाई जानकारी दिनका लागि प्रयोग गरिने पुनले बताए ।

हस्तान्तरण कार्यक्रममा बोल्दै नेपालका लागि इजरायली राजदूत हनान गोडेरले मानिसहरूको जीवन पद्धतिलाई परिवर्तन गर्न विज्ञान र प्रविधिमा भएका परिवर्तनको अध्ययन आवश्यक रहेको बताए । इजरायलले नेपालमा प्रविधि सहितको ल्याबको लागि सहकार्य गर्न पाएकोमा उनले खुशी व्यक्त गरे ।

विश्वका विभिन्न देशका विज्ञ तथा वैज्ञानिकहरूसँग पछिल्लो समय विज्ञान र प्रविधिको क्षेत्रमा भएको प्रगतिको सम्बन्धमा छलफल गर्न रिसर्च एण्ड डेभलपमेन्टको ‘हाइटेक क्लास रूम’ सञ्चालनमा सहयोग गरेको एम्बेसीका डेपुटी चिफ अफ मिसन ताल शोर्स्मनले जानकारी दिए ।

‘यसको मुख्य उदेश्य भनेको नेपाल र इजरायलको सहकार्य विज्ञान र प्रविधिको क्षेत्रमा अझै अगाडि बढ्दै जाओस् भन्ने हो,’ उनले भने ।

ल्याबमा २० जनाको क्षमता रहेको आविष्कार केन्द्रले जनाएको छ । हाल ३० लाख रुपैयाँ बराबरको प्रविधि राखिएको र लागत अझै बढ्ने बताइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्