
काठमाडौंको बौद्धमा लिभिङ टुगेदरमा बस्दै आएका युवा/युवतीको गएराति भएको मृत्युको विषयमा गम्भीर तथ्यहरू बाहिर आएका छन् ।
पब्जीको लत तथा दुई बीच शारीरिक सम्बन्धको विषयमा भएको खटपटका कारण मृत्यु भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।
बौद्धको राममन्दिर नजिक डेरा गरी बस्ने संखुवासभाका २५ वर्षीय अनिश जिमी र खोटाङको साकेला गाउँपालिका– ५ घर भई २० दिनदेखि जिमीसँगै बस्दै आएकी २२ वर्षीया युनुसा राईको गएराति धारिलो हतियार प्रहारबाट मृत्यु भएको हो ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सुदीप गिरीका अनुसार चक्कु प्रयोग गरी एकले अर्काको हत्या गरेको हुनसक्ने देखिएको छ ।
अनिशले पहिला युवतीको हत्या गरी आफूले आत्महत्या गरेको हुनसक्ने पाटोबाट पनि प्रहरीले अनुसन्धान गरिरहेको छ ।
पब्जीका कारण भेट, मृत्युको कारण पनि त्यही !
प्रहरीका अनुसार अनिश र युनुसाको भेट २० दिनअगाडि पब्जीको ‘प्लेयर्स अननोन्स ब्याटलग्राउन्ड’को माध्यमबाट भएको पाइएको छ ।
चिनजानपछि उनीहरू एकसाथ बस्दै आएको पनि खुलेको छ । उनीहरू सँगै बसेर राति अबेरसम्म पब्जी खेल्ने गरेका थिए ।
‘रातभरि हानहान, मारमार, काटकाट भन्दै चिच्याउने गरेको छिमेकीहरूको भनाइ छ,’ एसएसपी गिरीले भने ।
अनिशसँग उनकी आमा पनि बस्थिन् । घटना हुँदा आमा भने अर्को कोठामा रहेको पाइएको छ ।
गएराति १२ बजे दुवैजना अस्वाभाविक रूपमा चिच्याएपछि आमाले कोठा खोल्न प्रयास गरेकी थिइन् । भित्रबाट लक भएको पाइएपछि उनले १०० नम्बरमा फोन गरेर प्रहरीलाई जानकारी गराएकी थिइन् ।
प्रहरी पुग्दा युनुसा बेडमा नग्न अवस्थामा रगताम्मे भेटिएकी थिइन् । अनिश भने ढोकाको छेउमा कट्टु लगाएको अवस्थामा अचेत थिए ।
महानगरीय अपराध महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) चन्द्रकुवेर खापुङका अनुसार युवतीको घाँटी, पेट, छाति र शरीरका विभिन्न ठाउँमा चच्कुप्रहार भएको थियो ।
युवकको पनि शरीरभरी चक्कुको दाग थियो ।
‘दुवैजनाको शरीरभरी चक्कुले प्रहार भएको चोट थियो,’ एसएसपी खापुङले लोकान्तरसँग भने, ‘दुवैजनाले एकले अर्कालाई चक्कु प्रहार गरेको देखिन्छ, तर सबैकुरा भने पोस्टमार्टमपछि मात्रै आउला ।’
युवती नग्न अवस्थामा भेटिनुले शारीरिक सम्बन्धका क्रममा विवाद भएको हुनसक्ने सम्भावना पनि देखिएको छ ।
घटनास्थलमा मदिराका बोतल, चुरोटका ठुटाहरू र चक्कु फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीले केटाकी आमा र केटीको सानीआमा छोराको रोहबर ढोका खोलेको थियो । अनिश अचेत अवस्थामा भएकाले अस्पताल पठाइएको थियो, तर बाटोमा नै मृत्यु भयो ।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा उनी समय–समयमा रात्रि क्लबमा जाने गरको खुलेको छ ।
‘उनीहरू विद्यार्थी हो, होइन भन्ने खुलेको छैन, तर रात्रि क्लबमा जाने गरेको पाइएको छ,’ प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी सुदीप गिरीले भने ।
उनीहरूले प्रयोग गर्ने सामाजिक सञ्जाल प्रोफाइल र मेसेञ्जर नियाल्दा पनि पब्जीको निकै ठूलो लत रहेको पाइएको छ ।
ब्लड भएका फोटोहरू समेत उनीहरूको प्रोफाइलमा देख्न सकिन्छ ।
पब्जीकै कारण उनीहरूबीच समय–समयमा झगडा हुने गरेको छिमेकीले बताएका छन् ।
‘छिमेकीहरूले उनीहरूलाई पब्जीको लत भएको त्यसका लागि समयसमयमा झगडा गर्ने गरेको पनि बताएका छन्,’ अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीले भने ।