
गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी (सीडीओ) र जिल्लाका प्रहरी प्रमुखलार्ई एकैसाथ जिल्ला नछाड्न सर्कुलर जारी गरेको छ ।
गृहमन्त्री बालकृष्ण खाँणले जिल्लाको शान्ति सुरक्षालार्ई मध्यनजर गरी एकैचोटी जिल्ला नछाड्न सर्कुलर जारी गरिएको जानकारी दिए ।
गृह मन्त्रालयमा शुक्रवार नेपाल निजामती कर्मचारी युनियनको आठौं विभागीय अधिवेशनको उद्घाटन समारोहमा उनले जिल्ला नछाड्न निर्देशन दिए ।
उनले गृह मन्त्रालय अरु मन्त्रालय जस्तो नभइ चौबिसै घण्टा सेवा दिनुपर्ने विशिष्ट खालको रहेको जानकारी दिँदै असहज अवस्थामा पनि दिनरात नभनी काम गर्ने कर्मचारीप्रति सम्मान प्रकट गरे । राज्य प्रणाली सञ्चालनको मूल आधारशिला भनेको राष्ट्रसेवक कर्मचारी रहेको र जुनसुकै परिस्थितिको सामना गर्न तयार हुनुपर्ने सुझाव उनले दिए ।
उनले भने, ‘नयाँ चुनौती र दायित्व आउन सक्छन्, सामना गर्न कर्मचारी तयार हुनुपर्छ ।’
कर्मचारीले जनता आउँदा सेवा राम्रो दिन सक्नुपर्नेमा जोड दिँदै गृहमन्त्री खाँणले अहिले २ घण्टा लाग्दै आएको कामलार्ई डेढ घण्टा र ६ घण्टा लाग्दै आएको कामलार्ई ५ घण्टामा सम्पन्न गरे पनि सेवाग्राहीमा ठूलो राहत हुनेतर्फ ध्यानाकर्षण गराए । उनले मन्त्रालय र मातहतका कार्यालयमा कोही पनि हाकिम कर्मचारी नभई सबै एकै परिवारका सदस्य रहेको पनि बताए ।