०५ साउन २०८३, मंगलबार
सफलताको उडान

११ वर्षको उमेरमा सिकेको व्यावसायिक कलाले उदाएका पुन्यप्रसाद

पुस २४, २०७८
११ वर्षको उमेरमा सिकेको व्यावसायिक कलाले उदाएका पुन्यप्रसाद

विराटनगरका पुन्यप्रसाद भट्टराई २०४७ सालमा ११ वर्षका थिए । उनी ११ वर्षको हुँदा नै बुवा भोलानाथ भट्टराई गृहस्थी जीवन त्यागेर घर छाडेर हिँडे ।

बुवाले घर छाडेर हिँडेपछि सानै उमेरमा उनको काँधमा ठूलो जिम्मेवारी आयो । परिवारको जेठो छोरो भएकाले पनि आफ्नो काँधमा जिम्मेवारी आउनु स्वाभाविक नै भएको उनले बताए तर बुवा नभए पनि आमा सीतादेवी भट्टराईले केही पनि कमी हुन नदिएको बताए ।

ठूलो बुवा अञ्चलाधीश भएका कारणले उनको परिवारलाई गाउँमा अञ्चलाधीशको परिवार भनेर चिन्ने गरिन्थ्यो । ‘बुवाले गृहस्थ जीवन त्यागेको १५ वर्षसम्म हामीले खोज्यौं तर कहीँकतै नभेटेपछि अहिले खोज्न पनि छाडिदियौं ।’

४ कक्षासम्म उनले विराटनगरको सामुदायिक विद्यालयमा पढे । संयुक्त परिवार विराटनगरमै भएकाले उनले ४ कक्षासम्म पढ्ने अवसर पाएका थिए । पछि बुवाको अंश रतुवामाई नगरपालिकामा परेपछि उनले पनि गाउँमै गएर एसएलसी पास गरे ।

गाउँमा बस्दा नै कपडा पसल र टेलिफोन सेवाको व्यवसाय गरेकाले उनले सिक्ने मौका पाए । गाउँमा सिकेको व्यवसाय यतिबेला उनका लागि फलदायी बनेको छ । गाउँमै ११ वर्षको उमेरमा सिकेको व्यवसायले उनलाई विराटनगरका ठूलाठूला व्यापारीसँग प्रतिस्पर्धा गर्न पनि सिकाइरहेको छ ।

उनका एक भाइ थिए तर भाइको निधनपछि थप कष्टकर जीवन बिताउनुपरेको उनी सुनाउँछन् । ‘बुवा र भाइ हुँदा हामी जति सुखी परिवार कोही पनि छैन जस्तो लागेको थियो तर भाइको निधन भएपछि हामी जति दुःखी परिवार कोही पनि छैन जस्तो लागेर जिन्दगीबाट हरेस खाएको थिएँ । आमाको अनुहारमा खुशी ल्याउनुपर्छ, अहिले बुवा र भाइको सम्झनामा उहाँलाई रुवाउनु हुँदैन भन्ने लागेको छ ।’

आमालाई खुशी बनाउनका लागि गाउँमा गरेजस्तै व्यवसाय विराटनगरमा गर्ने सोच उनले बनाए । उनले ट्राभल्स एन्ड टुरिज्म भनेर पर्यटन सम्बन्धी व्यवसाय शुरू गरे । ‘आमाले २ किस्ता गरेर २ लाख ५० हजार दिनुभयो,’ उनले भने, ‘त्यही पुँजीबाट व्यवसाय शुरू गरें ।’ पुन्यप्रसादले सोचेअनुसार नै व्यवसाय पनि चल्न थाल्यो । विराटनगरमा केही व्यक्तिसहित उनले खानेपानीको उद्योग पनि शुरू गरे । ‘शान्ति जल’ नामक पानी अहिले पनि विराटनगरमा बिक्री भइरहेको छ ।

उनले ठूलीआमा, सानीआमाका छोराहरूसँग मिलेर एसियन ट्रेडर्स नामक डेरी डिलर सञ्चालनमा ल्याए । झापाको बिर्तामोडदेखि सिराहासम्म ट्रकमा लगेर घ्यू बेचेको उनले स्मरण गरे । ‘राम्रो व्यवसाय चलिरहेको थियो,’ उनले भने, ‘हामी आफैं घ्यू, दही, दूध उत्पादन गरेर बेचौं भनेर रंगेली नगरपालिकामा ७ बिगाहा जमिन लिजमा लिएर गाई फर्म खोल्यौं । दैनिक १ हजार ५०० लिटरसम्म दूध उत्पादन हुन थाल्यो ।’

बाढीले गाईसहित गोठ नै बगाउँदा ३ करोडभन्दा बढी क्षति भएको उनले बताए । टुरिज्म व्यवसाय शुरू गरेपछि बाह्य देशका पर्यटकहरूसँग समेत चिनजान भएकाले बस्न–खानका लागि विराटनगरमा होटल समेत खोलेको उनले बताए । विराटनगरका ठूला होटलमा उनको होटलको नाम ‘एसिया टिक’ आउने गरेको छ ।

उनले १०० भन्दा बढी व्यक्तिलाई रोजगारी दिएका छन् । व्यवसायमा पत्नी अन्जुला प्याकुरेले उनलाई साथ दिइरहेकी छन् । होटलका लागि दक्ष जनशक्ति विराटनगरमा उपलब्ध नभएकाले पनि बाह्य पर्यटक तान्न समस्या भएको उनी बताउँछन् । प्राविधिक शिक्षा नभएका कारणले पनि प्राविधिक उत्पादन विराटनगरले गर्न नसकेको उनले बताए । विराटनगरका ठूला व्यापारीभित्र पनि उनको नाम आउँछ ।

हाल १ दर्जनभन्दा बढी संघसंस्थामा पुन्यले नेतृत्व गरिसकेका छन् । पुन्य भन्छन्, ‘म गाउँमै हुँदा हाम्रो मात्रै मोटरसाइकल थियो । गाउँमा कसैलाई सर्पले टोक्यो भने मलाई खोज्दै आउँथे । सर्पले टोकेका बिरामीलाई दमकसम्म मोटरसाइकलमा पुर्‍याउने गरेको थिएँ । मैले त्यस्ता झण्डै २५० बिरामीलाई निःशुल्क अस्पतालसम्म लगेको थिएँ । त्यो अहिले सम्झँदा पनि आनन्द आउँछ, धर्म गरेजस्तो लाग्छ । त्यो नै ठूलो समाज सेवा भएको जस्तो लाग्छ ।’

घाटा भएको मोरङ सहकारीलाई विराटनगरकै नमूना बनाएको उनले बताए । सहकारीप्रति आस्था घटिरहेकै बेला मोरङ सहकारीलाई आफ्नै गोजीको पैसा हालेर भए पनि आफ्नै कार्यकालमा नमूना बनाएको उनले बताए । उनले हुत्त सहकारीमा ११ वर्ष नेतृत्व गरेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्