
विराटनगरका पुन्यप्रसाद भट्टराई २०४७ सालमा ११ वर्षका थिए । उनी ११ वर्षको हुँदा नै बुवा भोलानाथ भट्टराई गृहस्थी जीवन त्यागेर घर छाडेर हिँडे ।
बुवाले घर छाडेर हिँडेपछि सानै उमेरमा उनको काँधमा ठूलो जिम्मेवारी आयो । परिवारको जेठो छोरो भएकाले पनि आफ्नो काँधमा जिम्मेवारी आउनु स्वाभाविक नै भएको उनले बताए तर बुवा नभए पनि आमा सीतादेवी भट्टराईले केही पनि कमी हुन नदिएको बताए ।
ठूलो बुवा अञ्चलाधीश भएका कारणले उनको परिवारलाई गाउँमा अञ्चलाधीशको परिवार भनेर चिन्ने गरिन्थ्यो । ‘बुवाले गृहस्थ जीवन त्यागेको १५ वर्षसम्म हामीले खोज्यौं तर कहीँकतै नभेटेपछि अहिले खोज्न पनि छाडिदियौं ।’
४ कक्षासम्म उनले विराटनगरको सामुदायिक विद्यालयमा पढे । संयुक्त परिवार विराटनगरमै भएकाले उनले ४ कक्षासम्म पढ्ने अवसर पाएका थिए । पछि बुवाको अंश रतुवामाई नगरपालिकामा परेपछि उनले पनि गाउँमै गएर एसएलसी पास गरे ।
गाउँमा बस्दा नै कपडा पसल र टेलिफोन सेवाको व्यवसाय गरेकाले उनले सिक्ने मौका पाए । गाउँमा सिकेको व्यवसाय यतिबेला उनका लागि फलदायी बनेको छ । गाउँमै ११ वर्षको उमेरमा सिकेको व्यवसायले उनलाई विराटनगरका ठूलाठूला व्यापारीसँग प्रतिस्पर्धा गर्न पनि सिकाइरहेको छ ।
उनका एक भाइ थिए तर भाइको निधनपछि थप कष्टकर जीवन बिताउनुपरेको उनी सुनाउँछन् । ‘बुवा र भाइ हुँदा हामी जति सुखी परिवार कोही पनि छैन जस्तो लागेको थियो तर भाइको निधन भएपछि हामी जति दुःखी परिवार कोही पनि छैन जस्तो लागेर जिन्दगीबाट हरेस खाएको थिएँ । आमाको अनुहारमा खुशी ल्याउनुपर्छ, अहिले बुवा र भाइको सम्झनामा उहाँलाई रुवाउनु हुँदैन भन्ने लागेको छ ।’
आमालाई खुशी बनाउनका लागि गाउँमा गरेजस्तै व्यवसाय विराटनगरमा गर्ने सोच उनले बनाए । उनले ट्राभल्स एन्ड टुरिज्म भनेर पर्यटन सम्बन्धी व्यवसाय शुरू गरे । ‘आमाले २ किस्ता गरेर २ लाख ५० हजार दिनुभयो,’ उनले भने, ‘त्यही पुँजीबाट व्यवसाय शुरू गरें ।’ पुन्यप्रसादले सोचेअनुसार नै व्यवसाय पनि चल्न थाल्यो । विराटनगरमा केही व्यक्तिसहित उनले खानेपानीको उद्योग पनि शुरू गरे । ‘शान्ति जल’ नामक पानी अहिले पनि विराटनगरमा बिक्री भइरहेको छ ।

उनले ठूलीआमा, सानीआमाका छोराहरूसँग मिलेर एसियन ट्रेडर्स नामक डेरी डिलर सञ्चालनमा ल्याए । झापाको बिर्तामोडदेखि सिराहासम्म ट्रकमा लगेर घ्यू बेचेको उनले स्मरण गरे । ‘राम्रो व्यवसाय चलिरहेको थियो,’ उनले भने, ‘हामी आफैं घ्यू, दही, दूध उत्पादन गरेर बेचौं भनेर रंगेली नगरपालिकामा ७ बिगाहा जमिन लिजमा लिएर गाई फर्म खोल्यौं । दैनिक १ हजार ५०० लिटरसम्म दूध उत्पादन हुन थाल्यो ।’
बाढीले गाईसहित गोठ नै बगाउँदा ३ करोडभन्दा बढी क्षति भएको उनले बताए । टुरिज्म व्यवसाय शुरू गरेपछि बाह्य देशका पर्यटकहरूसँग समेत चिनजान भएकाले बस्न–खानका लागि विराटनगरमा होटल समेत खोलेको उनले बताए । विराटनगरका ठूला होटलमा उनको होटलको नाम ‘एसिया टिक’ आउने गरेको छ ।
उनले १०० भन्दा बढी व्यक्तिलाई रोजगारी दिएका छन् । व्यवसायमा पत्नी अन्जुला प्याकुरेले उनलाई साथ दिइरहेकी छन् । होटलका लागि दक्ष जनशक्ति विराटनगरमा उपलब्ध नभएकाले पनि बाह्य पर्यटक तान्न समस्या भएको उनी बताउँछन् । प्राविधिक शिक्षा नभएका कारणले पनि प्राविधिक उत्पादन विराटनगरले गर्न नसकेको उनले बताए । विराटनगरका ठूला व्यापारीभित्र पनि उनको नाम आउँछ ।
हाल १ दर्जनभन्दा बढी संघसंस्थामा पुन्यले नेतृत्व गरिसकेका छन् । पुन्य भन्छन्, ‘म गाउँमै हुँदा हाम्रो मात्रै मोटरसाइकल थियो । गाउँमा कसैलाई सर्पले टोक्यो भने मलाई खोज्दै आउँथे । सर्पले टोकेका बिरामीलाई दमकसम्म मोटरसाइकलमा पुर्याउने गरेको थिएँ । मैले त्यस्ता झण्डै २५० बिरामीलाई निःशुल्क अस्पतालसम्म लगेको थिएँ । त्यो अहिले सम्झँदा पनि आनन्द आउँछ, धर्म गरेजस्तो लाग्छ । त्यो नै ठूलो समाज सेवा भएको जस्तो लाग्छ ।’
घाटा भएको मोरङ सहकारीलाई विराटनगरकै नमूना बनाएको उनले बताए । सहकारीप्रति आस्था घटिरहेकै बेला मोरङ सहकारीलाई आफ्नै गोजीको पैसा हालेर भए पनि आफ्नै कार्यकालमा नमूना बनाएको उनले बताए । उनले हुत्त सहकारीमा ११ वर्ष नेतृत्व गरेका थिए ।