हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आइतबार प्रदेश नं १ तथा लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहेको छ।
यस्तै दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रहने सम्भावना छ। यस्तै सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका केहि स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना पनि महाशाखाले औंल्याएको छ । बाँकी प्रदेशका एक दुई स्थानहरूमा पनि मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।
साथै उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानहरूमा हिमपातको सम्भावना रहेको छ।
यस्तै राति देशभर आंशिकदेखि सामान्य बदली रही दिउँसो जस्तै केही स्थानमा वर्षाको सम्भावना छ । महाशाखाका अनुसार सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको हो । साथै उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ।