
नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आगामी निर्वाचनमा कांग्रेसले कसैसँग गठबन्धन नगर्ने बताएका छन् । कांग्रेसको बलियो खुट्टा देखेर गठबन्धनका दलले तालमेलको कुरा गरे पनि कांग्रेस एक्लै चुनाव लड्ने उनले बताएका हुन् ।
गुहजिल्ला स्याङजामा कांग्रेसको नवनिर्वाचित जिल्ला नेतृत्वको पदस्थापन कार्यक्रममा उपसभापति गुरुङले गठबन्धनको नाममा चुनावमा अन्य दलसँग तालमेल नगर्ने बताए ।
‘संविधान र जनताको सर्वोच्च संस्था संसद बचाउने सन्दर्भमा यो गठबन्धन बनेको हो र त्यसैको बाइप्रडक्टको रुपमा सरकार बनेको हो । गठबन्धनलाई कायम राख्दै कांग्रेसको काँधमा चढेपछि मात्र वैतरणी तर्न सकिन्छ भनेर केही दलले भनिरहेका छन्,’ गुरुङले भने, ‘हिजोको दिनमा बाबुराम भट्टराई, महन्थ ठाकुर र प्रचण्डकी सुपुत्रीलाई पनि बोकेको हो । तर चुनावमा जितेर पल्लो किनारामा पुगेपछि धन्यवाद भन्न भन्दा कांग्रेसलाई फोहोर गरेर ओर्लिए ।’
चुनावमा जान डराएका दलहरू गठबन्धन गरेर जानुपर्छ भनेर रुवावासी गरिरहेको गुरुङले टिप्पणी गरे । ‘कांग्रेसको खुट्टा तन्दुरुस्त भएकोले एक्लै गर्ने हो, बैशाखी टेक्ने होइन । हामी चार भाइ देउसी खेल्न आयौँ भनेर भनेजस्तो गरेर चुनावमा जाने होइन,’ गुरुङले भने ।
माघ १२ गते हुने राष्ट्रिय सभा चुनावमा भने पाँच दलीय गठबन्धनले चुनावी तालमेल गर्ने निर्णय गर्दै सिटको भागवण्डा गरेका छन् ।
उपाध्यक्ष गुरुङले सरकारको न्यूनतम साझा कार्यक्रममा रहेको ठूला भ्रष्टाचार काण्डको छानबिन गर्ने कुरा कार्यान्वयनमा ल्याउन प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराए ।