०७ साउन २०८३, बिहीबार

कोरोना बढेपछि फेरि कडाइ, सार्वजनिक सेवा प्राप्त गर्न पनि खोप कार्ड चाहिने

पुस २६, २०७८
कोरोना बढेपछि फेरि कडाइ, सार्वजनिक सेवा प्राप्त गर्न पनि खोप कार्ड चाहिने
तस्वीर सौजन्य : राजधानी दैनिक

कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) ले कोभिड–१९ र यसको नयाँ भेरियन्टको संक्रमण पुनः फैलिन थालेपछि १० दिनका लागि देशभरका विद्यालय बन्द गर्न सिफारिस गरेको छ । सीसीएमसीको आइतबार बसेको बैठकले १५ माघसम्म हिउँदे बिदा दिएर देशभरका आधारभूत र माध्यमिक विद्यालय बन्द गर्न आग्रह गरेको हो ।

सीसीएमसी प्रवक्ता सुनिता नेपालले कतिपय विद्यालयमा हिउँदे बिदा पनि जारी रहेकाले त्यसलाई १५ माघसम्म लम्ब्याउने गरी निर्णय गरेको त्यसले संक्रमणको चेन ब्रेक गर्न सहयोग पुग्ने बताइन् । उनका अनुसार निर्णय कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयमा सिफारिस गरिएको छ ।

सीसीएमसीले विद्यालय बन्द रहेको अवस्थामा पनि १२ देखि १७ वर्षसम्मका विद्यार्थी र १८ वर्षदेखि माथिका शिक्षक, कर्मचारी र अभिभावकलाई खोप लगाउन पनि आग्रह गरेको छ ।

सीसीएमसीले राजनीतिक दललगायतलाई ठूलो संख्यामा भेला हुनेगरी सभा सम्मेलन नगर्न अनुरोध गरेको छ । यस्तै, सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला हुन रोक लगाउने निर्णय पनि गरेको छ । अर्को सूचना नभएसम्म सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला हुनेगरी मेला, भेला तथा महोत्सव आयोजना नगर्न नगराउन सबै स्थानीय प्रशासनलाई गृह मन्त्रालयमार्फत लेखी पठाउन सिफारिस गर्ने सीसीएमसीले निर्णय गरेको हो ।

बैठकले सार्वजनिक स्थलमा हुने राजनीतिक तथा धेरै जना उपस्थित हुने गरी प्रशासनिक, सामाजिक एवं त्यही प्रकृतिको कार्यक्रम नगर्न आह्वान गरेको हो । नगरी नहुने नियमित कार्यक्रमको हकमा स्थानीय प्रशासनको अनुमति लिएर गर्ने व्यवस्था मिलाउने पनि बैठकले निर्णय गरेको छ ।

सार्वजनिक सेवा प्राप्त गर्न पनि खोप कार्ड अनिवार्य गर्ने निर्णयसमेत गरिएको छ । उक्त निर्णय आगामी ३ माघदेखि लागू गरिने भएको छ ।अब होटल छिर्दा र आन्तरिक हवाई सेवाका लागि पनि भ्याक्सिन कार्ड अनिवार्य गरिने भएको छ ।

सीसीएमसीको बैठकले होटल छिर्दा अब भ्याक्सिन कार्ड अनिवार्य गर्ने निर्णय गरेको हो । अब सार्वजनिक स्थानहरू (कार्यालय, होटल, रेस्टुरेन्ट, सिनेमा हल, रंगशाला, हवाईयात्रा, पार्क आदि) प्रवेश गर्दा अनिवार्य रूपमा कोभिडविरुद्धको क्याक्सिन कार्ड (मोबाइलमा फोटो भए पनि हुने) साथमा राख्ने र ती निकायले खोप कार्ड हेरेर मात्र प्रवेश दिने व्यवस्था मिलाउने गरी आगामी ३ माघदेखि लागू गर्ने निर्णय भएको हो ।

यस्तै, आगामी ३ माघदेखि नै लागू हुनेगरी आन्तरिक हवाई उडानमा खोप कार्ड हुने यात्रुलाई मात्र बोर्डिङ पास उपलब्ध गराउने व्यवस्था मिलाउने निर्णय पनि गरिएको छ ।

त्यस्तै, आन्तरिक तथा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको भिडभाड कम हुनेगरी उडान तालिका मिलाउन सीसीएमसीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई आग्रह गरेको छ ।

सीसीएमसीले नेपाल प्रवेश बिन्दुमा एन्टिजेन परीक्षणको कार्यलाई थप प्रभावकारी बनाउने र परीक्षणबाट पोजेटिभ देखिएकाहरूलाई तत्काल आइसोलेसन, होल्डिङ सेन्टर, होटल आदी मा राख्न अनुरोधसमेत गरेको छ । राजधानी दैनिकमा टेनिस रोकाले खबर लेखेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्