
साता दिनअघि हिमपातका कारण तिब्बतको खासा र न्यालम क्षेत्रमा रोकिएका मालवाहक कन्टेनर (चिनियाँ ट्रेलर) तातोपानी नाका भित्रिन थालेका छन् ।
खासा, सिगात्सेमा १८३ ट्रेलर रोकिएकामध्ये दैनिक १० वटा तातोपानी आइरहेको बताइएको छ ।
तातोपानी सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारद गौतमले खासा क्षेत्रमा थुप्रिएको हिउँ पन्छाएर मालवाहक कन्टेनर पठाउन थालेको बताए ।
खासा क्षेत्रका सडकमा चार फिटभन्दा बढी हिउँ जमेका कारण नेपाली व्यापारीको सामान लिएर आएका कन्टेनर/ट्रेलर न्यालम र खासामा रोकिएका थिए ।
हिमपातका कारण दुर्घटना हुन सक्ने भन्दै चीनले कन्टेनर पठाउन रोक लगाएको थियो । कन्टेनरहरूमा आएका स्याउ र खाद्यवस्तु कुहिएको उक्त नाकामा व्यापार गर्दै आएका बलेफी गाउँपालिका–८ का व्यापारी रमेशकुमार श्रेष्ठले बताए ।
चीनको न्यालम, बिम्बु क्षेत्रका सडकमा अहिले पनि हिउँ परिरहेको र त्यहाँ रोकिएका कन्टेनर ल्याउन अझै सकिएको छैन । हिउँ पन्छाएर भए पनि सो कन्टेनर तातोपानी नाका ल्याउन चिनियाँ सरकारसँग नेपाली व्यापारीले आग्रह गरेका छन् । गोरखापत्र दैनिकमा खबर छ ।