
बलिउड अभिनेत्री कंगना रनौत सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । उनले आफ्नो पोस्टबाट सबैको ध्यानाकर्षण गर्छिन् तर कहिलेकाहीँ यही कारणले गर्दा उनी समस्यामा पनि पर्ने गर्छिन् ।
यसैबीच, कंगनाले दुई तस्वीर शेयर गर्दै खालिस्तानी र सिखबीचको भिन्नताबारे बताइन् । यससँगै कंगनाले कमेन्ट पनि लेखेकी थिइन् तर तत्कालका लागि उनले यो पोस्ट हटाएकी छन् ।
उनले लेखेकी थिइन्– खालिस्तानी न सिख हुन् न किसान । यी मानिसहरू लश्कर-ए-तैयबा जस्ता आतंकवादी हुन् । भारत सरकारले उनीहरूलाई आतंकवादी घोषणा गर्नुपर्छ । यदि तपाईं तिनीहरूको पक्षमा हुनुहुन्छ भने तपाईंले तिनीहरू के चाहन्छन् भन्ने थाहा पाउनु पर्छ...आतंकवाद र गृहयुद्ध...।
यसअघि कंगनाले किसान आन्दोलनलाई खालिस्तानीसँग तुलना गरेकी थिइन् । त्यसपछि उनीविरुद्ध मुद्दा दर्ता भएको छ । यस विषयमा अहिले अनुसन्धान भइरहेको छ । उनले आफ्नो इन्स्टाग्राम पोस्ट मार्फत दिल्लीको सिमानामा किसान आन्दोलनलाई खालिस्तानी आन्दोलनको रूपमा प्रस्तुत गरेको आरोप छ ।
