संसारका नम्बर १ टेनिस खेलाडी नोभाक जोकोविचले अस्ट्रेलिया सरकारविरुद्ध भिसा रद्द गरिएको केस जितेका छन् ।
अस्ट्रेलिया सरकारले जोकोभिचको भिसा रद्द गर्ने फैसला लिनु गलत भएको अदालतले निर्णय दियो । त्यससँगै अदालतले जोकोविचको पासपोर्ट र अन्य सामग्री तत्काल फर्काउन पनि सरकारलाई आदेश दिएको छ ।
भिसा रद्द गरिएपछि जोकोविच चार दिनसम्म अध्यागमन विभागको होटलमा बसेका थिए ।
जोकोविचले कोरोनाको खोप नलगाइन अस्ट्रेलिया प्रवेश गरेको आरोप छ । अस्ट्रेलियामा त्यसका विषयमा कठोर कानून छ ।
मुद्दा जितेपछि जोकोभिचले अस्ट्रेलियन ओपन केस खेल्ने निश्चित बनेको छ ।
तर केस जिते पनि जोकोविचलाई अस्ट्रेलिया बाहिर पठाउने अधिकार सरकारसँग रहेको र यस विषयमा तत्काल फैसला लिने एक मन्त्रीको भनाइ छ ।
जोकोविचले मेडिकल कारणले गर्दा खोप लगाउन नसकेको भनेपछि उनलाई टेनिस खेल्न छुट दिइएको थियो । तर अस्ट्रेलिया पुगेपछि उनलाई मेडिकल समस्याको प्रमाण पेश गर्न लगाइएको थियो ।
उनले डिसेम्बर १६ मा कोरोना लागेको र तत्काल खोप लगाउन नसकिने बताएका थिए । त्यसपछि उनलाई विमानस्थलमै रोकियो अनि उनको भिसा रद्द गरियो ।
भिसा रद्द गरिएपछि जोकोविचले अदालतमा त्यसलाई चुनौती दिएका थिए । सुनुवाइपछि अदालतले जोकोविचलाई सही ठहर गरेको छ ।
तर अस्ट्रेलिया सरकार उनलाई देशबाहिर निकाल्न तम्तयार देखिएको छ ।