
नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीले समाचारको विषयमा लोकान्तर संवाददातालाई धम्क्याएका छन् ।
लोकान्तरमा सोमवार छापिएको ‘क्यानका ‘लोभी’ महानिर्देशक- उमेरहदले अवकाश पाएपछि पनि पदमा रहिरहन दौडधूप’शीर्षकको समाचारलाई लिएर क्षेत्रीले धम्की दिएका हुन् ।
क्षेत्रीले उनका प्रतिस्पर्धी प्रतापबाबु तिवारीको पैसा खाएर समाचार लेखेकोसमेत आरोप लगाएका छन् । क्षेत्रीले भने, ‘प्रतापबाबु तिवारीको पैसा खाएर समाचार लेख्ने ? त्यस्तो हेडिङ लगाउने, अर्कोको पैसा खाएर समाचार लेख्ने तपाईंको विषयमा म भोलि के लेख्छु हेर्नुहोला ।’
लोकान्तरले क्षेत्रीलाई पैसा खाएर समाचार लेखेको पुष्टि गर्न चुनौती दिएको छ । क्षेत्रीको अडियो लोकान्तरसँग सुरक्षित छ ।
लोकान्तरमा उनको विषयमा समाचार छापिएपछि क्षेत्री आफैंले सोमवार राति ८ बजेर एक मिनेटमा फोन गरेका थिए ।
उनको फोन उठाउन नपाउँदै अपशब्द प्रयोग गरेर गाली गर्न शुरू गरेका थिए । क्षेत्रीले टेलिफोनमा प्रयोग गरेको अश्लील शब्द यहाँ उल्लेख गर्न सकिएन ।
के भयो र भन्ने प्रतिप्रश्न गरेपछि उनले भने, ‘तपाईंलाई मैले आफ्नो भाइजस्तो मानेर सूचना दिएको, इन्टरनेट नभएको बेलामा डाटा खोलेर अदालतको स्टे–अर्डर मैले दिएँ, अनि तपाईंचाहिँ जे पायो त्यही लेख्ने । समाचारको हेडिङ जे पायो त्यही लेख्ने ?’
त्यसपछि उनले थप आक्रोश व्यक्त गरे, ‘३० गते अदालतको फैसला आयो भने म घर जाउँला केही छैन । हाम्रा पनि मिडिया छन्, हामीले पनि लेखाउन सक्छौं तर त्यस्तो हेडलाइन राखेर चाहिँ कसैले पनि लेख्न लगाउँदैन । मलाई सबै थाहा छ लोकान्तर कसको हो ? कसले लेखाउन लगाउँछ भन्ने । ऐन नियममा नभएको कुरा मैले त्यसै मागेको होला र ?’
क्षेत्रीले अरूले आँट नगरेको तर आफूले गरेको बताए । ‘हिजो पूर्व महानिर्देशक राजन पोखरेलले पनि पूरा समय नियुक्त खान पाउनुपर्छ भन्दै अदालत जान खोजेका थिए । उनीहरूले आँट गरेनन्, मैले गरेँ,’ उनले भने, ‘तपाईंले नियम कानूनको व्याख्या गर्नुस्, त्यो सबै लेख्नुस् तर व्यक्तिगत रूपमा अप्ठ्यारो पार्ने गरी समाचारको हेडलाइन राखेर लेख्ने ? भोलिदेखि अब मेरो प्रवक्तालाई तपाईंसँग बोल्न लगाउन मिल्छ ?’
उनको गुनासो समाचारमा प्रयोग भएको शीर्षकको बारेमा थियो । समाचारको शीर्षकमा आफ्नो खासै भूमिका नहुने संवाददाताले बताएपछि क्षेत्रीको प्रतिक्रिया थियो, ‘तपाईंले मसँग अन्तरवार्ता लिएपछि तपाईंले यस्तो हेडलाइन लेख्नु हुँदैन भन्नुपर्दैन ? भित्र जे–जे लेख्नुभो त्यो मलाई मतलब भएन कम्तीमा हेडलाइन त राम्रो लेख्नुस् न । म अदालत गएँ, आफ्नो अधिकार खोज्न गएको हो भनेर पो लेख्ने हो त । अब तपाईं यस्तो हेडिङ राखेर भोलिदेखि मसँग कुरा गर्न मिल्छ ? प्रताप तिवारीको चाकडी गर्न मिल्छ ? त्यो हेडिङ तुरुन्त चेन्ज गरेर मलाई फोन गर्नुस् ।’