
बालिका हत्याको आरोपमा पक्राउ परेकै दिन प्रहरी हिरासतमा माता आएको भन्दै काँप्ने कथित ‘माता’ उमा शाही ठकुरीको चटक अहिले भने बन्द भएको छ ।
नागार्जुन नगरपालिका– १ पानीट्याङ्कीमा टहरामा बस्दै आएकी उमालाई हत्या आरोपमा आइतबार प्रहरीले पक्राउ गरेको थियो ।
पक्राउ परेको पहिलो दिन महानगरीय प्रहरी वृत्त स्वयम्भूमै हात हेर्ने, काँप्ने लगायतका क्रियाकलाप गरेकी थिइन् । तर, अहिले त्यस्तो गतिविधि बन्द भएको वृत्तका डीएसपी मिलन केसीले जानकारी दिए ।
‘उहाँले पहिलो दिन माता उत्रेको भन्दै काँप्ने लगायतका गतिविधि गर्नुभएको थियो,’ डीएसपी केसीले लोकान्तरसँग भने, ‘अहिले शान्त भएर बस्नुभएको छ ।’
प्रहरीले ५ दिनको म्याद थप गरेर अनुसन्धान गरिरहेको छ । उनले प्रारम्भिक बयानमा आफूले जानेको मन्त्रले झारफुक गरेको बताएकी छन् ।
‘मैले जनाको मन्त्रले झारफुक गरेकी हुँ,’ उनको बयान उद्धृत गर्दै अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले भने ।
‘उहाँले उपचार गर्छु भन्दै टाउकोमा हिर्काउने, त्रिशूलले घोच्ने गरेका कारण मृत्यु भएको हुनसक्छ,’ अनुसन्धानमा खटिएका अधिकारीले लोकान्तरसँग भने ।
तर वृत्तपति केसीले भने पोष्टमार्टमको रिपोर्ट नआएसम्म केही भन्न नसकिने बताए ।
२१ दिन अगाडि टाउकोमा समस्या देखिएपछि आफन्तको सल्लाहका सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नरपालिका–२ भई भक्तपुर धुञ्चेपाखा बस्दै आएकी १४ वर्षीया किशोरीलाई उनकी आमा रोशनी श्रेष्ठले कथित माताकोमा ल्याएकी थिइन् ।
माताले आफूले निको बनाइदिने भन्दै ती बालिकालाई आफ्नो शरणमा छाड्न भनिन् । उनीहरू उपचार हुने आशामा बालिकालाई त्यहाँ छाडेर गएका थिए ।
तर हिजो बिहान ५ बजे अचेत भएपछि ती माताले आफन्तलाई फोन गरेर बोलाएको तथा आफन्तले अस्पताल लैजाँदै गर्दा मृत्यु भएको महानगरीय प्रहरी परिसरका प्रवक्ता एसपी मैनालीले लोकान्तरलाई बताए ।
‘ती बालिका बेहोश भएपछि अस्पताल लगिएको थियो तर अस्पतालले त्यहाँ आउन भन्दा पहिला नै मृत्यु भएको बताएको थियो,’ एसपी मैनालीले भने, ‘आफन्तले प्रहरीलाई खबर गरेपछि हामीले ती माता भनिने उमासहित ३ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेका छौं ।’
ती बालिकाको शरीरभरी निलडाम र चोटहरू देखिएका छन् । कथित माता उमाले त्रिशूलले घोचेर हत्या गरेको आरोप परिवारले लगाएको छ ।
ती बालिकाका आफन्तका अनुसार उनको शरीरमा निलडाम, ठाउँ–ठाउँमा तिखो चिजले घोचेका प्वालहरू छन् । मुखमा चोटैचोट र नाकबाट रगत आएको अवस्थामा ती बालिका थिइन् ।
प्रहरीले त्रिशूलले घोचे नघोचेको पुष्टि नभएको तर यातनाबाट ती बालिकाको मृत्यु भएको हुनसक्ने बताएको छ ।
कक्षा ७ मा अध्ययनरत ती बालिकाको परीक्षा आएको भन्दै बीचमा परिवार पनि लिन आएका थिए । तर, ती कथित माताले ज्यान ठूलो कि पढाइ भन्दै यत्तिकै फर्काएको पाइएको डीएसपी केसीले बताए ।