१४ असार २०८३, आइतबार

संक्रमण बढ्दा राजनीतिक दलका गतिविधि ठप्प

पुस २८, २०७८
संक्रमण बढ्दा राजनीतिक दलका गतिविधि ठप्प

काठमाडौं उपत्यकासँगै देशैभरि कोरोना संक्रमितको संख्या बढ्दै गएपछि राजनीतिक दलका गतिविधि ठप्प हुन थालेका छन् । सरकारले सभा, सम्मेलनसहित २५ जनाभन्दा बढी व्यक्ति एक ठाउँमा भेला हुनमा रोक लगाएपछि दलका गतिविधि प्रभावित हुन थालेको हो ।

सरकारको पछिल्लो निर्णयसँगै दलहरूले पूर्वनिर्धारित कार्यक्रम स्थगित गरेका छन् । पार्टीका शीर्ष नेताहरू नै कोरोना संक्रमित हुन थालेपछि दलका बैठक, सम्मेलन, भेलालगायतका कार्यक्रम स्थगित भएको हो ।

पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्दै गएपछि पार्टीको पूर्व निर्धारित कार्यक्रम स्थगित गर्नुपरेको राजनीतिक दलहरूले जनाएका छन् । माओवादी केन्द्रका नेता गणेश साहले कोरोना संक्रमितको संख्या बढ्दै गएकाले आफ्नो पार्टीको केन्द्रीय कमिटी बैठक स्थगित गरिएको बताए ।

माओवादीले २५ पुसमा केन्द्रीय कमिटीको बैठक बोलाएको थियो । तर, माओवादी अध्यक्ष पुष्पकमल दाहाल, नेता नारायणकाजी श्रेष्ठसहित शीर्ष नेताहरू नै कोरोना संक्रमित भएपछि बैठक स्थगित गर्नुपर्ने अवस्था आएको साहले बताए ।

बैठकबाट पदाधिकारी, स्थायी कमिटी गठन, पोलिट्ब्युरो गठन र नेताहरूको जिम्मेवारी बाँडफाँटलगायतका एजेन्डामा छलफल हुने कार्यक्रम थियो । पार्टीको आठौं महाधिवेशनमा देशैभरिबाट नेताहरू सहभागी थिए ।

सरकारको नेतृत्व गरेको दल नेपाली कांग्रेसले समेत पार्टी बैठक, भेला, छलफललगायतका कार्यक्रम स्थगित गरेको छ । महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिका नेताहरूको जिम्मेवारी बाँडफाँटलगायतका काम गर्नुपर्ने भए पनि कोरोनाका कारण बैठक बस्न सक्ने अवस्था नभएको कांग्रेस सहमहामन्त्री फरमुल्लाह मन्सुरले बताए ।

यसैबीच, नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई कोरोना संक्रमण भएको छ ।

एकीकृत समाजवादीका उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले मंगलबार अध्यक्ष नेपालमा कोरोना संक्रमण पुष्टि भएको जनाए ।

‘परीक्षण गर्दा मंगलबार कोरोना पुष्टि भयो,’ खतिवडाले भने, ‘अहिले उहाँको अवस्था सामान्य छ घरमै आइसोलेसनमा बस्नुभएको छ ।’ प्रवक्ता खतिवडाले पार्टीका पूर्वनिर्धारित सबै कार्यक्रम स्थगित गरिएको बताए ।

यस्तै, प्रमुख प्रतिपक्षी नेकपा एमालेले समेत पूर्वनिर्धारित प्रदेश अधिवेशन केही समयका लागि स्थगित गरेको छ । यद्यपि, जिल्ला अधिवेशन जारी नै रहेको एमालेले जनाएको छ ।

एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार पछिल्लो समय पुनः कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएपछि पार्टीको प्रदेश अधिवेशन सरेको बताए । यसअघि ८ माघमा तोकिएको अधिवेशन अब २८ र २९ माघमा हुने उनले बताए ।

एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीका अनुसार यससम्बन्धी निर्देशनसमेत प्रदेशमा गइसकेको छ । त्यस्तै, अधिवेशन हुन बाँकी जिल्ला अधिवेशन २२ माघ सम्ममा सम्पन्न गर्न निर्देशन दिइएको उनले बताए ।

यस्तै, जनता समाजवादी पार्टी नेपाल (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)सहितका दलको बैठक, छलफल, भेलालगायतका कार्यक्रम पनि रोकिएको छ । जसपा कार्यकारिणी सदस्य मनीष सुमनले पार्टीका सबै कार्यक्रम अहिले स्थगित गरिएको बताए । लोसपा नेता सञ्जय यादवले पार्टीका कार्यक्रम केही समयका लागि स्थागित गरिएको बताए ।

यद्यपि, तराई मधेसमा जनमत पार्टीको जारी किसान आन्दोलन रोकिएको छैन । एकपछि अर्को कार्यक्रम घोषणा गर्दै अध्यक्ष डा. सिके राउतले सडक आन्दोलनलाई बढाउँदै लगेका छन् । दैनिक रूपमा अन्दोलनका कार्यक्रम जारी नै रहेको जनमत पार्टीका नेता बीपी साहले बताए । राजधानी दैनिकमा सुभाष साहले खबर लेखेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्