अमेरिकाका युवा सैनिकहरूले दुई हप्ताको गुरिल्ला वारफेयर अभ्यास गर्ने भएका छन् । उक्त अभ्यासमा उनीहरूले अवैध सरकारलाई हटाउने प्रयासका लागि अभ्यास गर्नेछन् ।
अमेरिकी संसदमा गरिएको आक्रमणको एक वर्ष पुगेको केही दिनमा नै यस प्रशिक्षण अभ्यासको खबर आएको हो ।
यसैबीच अमेरिकाको जस्टिस डिपार्टमेन्टले नयाँ घरेलु आतंकवाद इकाइ बनाउने घोषणा गरेको छ । घरेलु हिंस्रक अतिवादीहरूबाट जोखिम बढेकाले यसको गठन गरिएको बताइएको छ ।
यी सबै घटनाक्रमबाट बाइडन प्रशासनले अमेरिकामा हुने ठूलै विद्रोहको सामना गर्नका लागि तयारी गरिरहेको केही मानिसले बताएका छन् ।
बाइडनको सैन्य अभ्यासले अमेरिकाका स्वतन्त्रता सेनानीहरूविरुद्ध गुरिल्ला युद्ध लड्नेछ र उनीहरूलाई मार्नेछ, एक ट्विटर प्रयोगकर्ताले लेखे ।
अर्का प्रयोगकर्ताले अमेरिकीहरूलाई मार्नका लागि सरकारले सेनालाई तालिम दिइरहेको त हैन भनी प्रश्न गरे ।
तर यस्तो गुरिल्ला प्रशिक्षण अभ्यास सन् १९७० को दशकदेखि लगातार हुने गरेको छ । यसलाई रोबिन सेज नाम दिइएको छ ।
रोबिन सेज तालिममा युवा सैनिकहरू अनुभवी सैनिकहरूसँग लड्नेछन् । एकथरी गुरिल्ला स्वतन्त्रता सेनानी बन्नेछन् भने अर्काथरी त्यसको विरोधी बल बन्नेछन् ।
देशमा सशस्त्र विद्रोहलाई रोक्नका लागि सैनिकहरूलाई तयार पार्न लागिएको कतिपयले आशंका गरेका छन् । अन्य कतिपयले अमेरिकी सैनिकहरूलाई आफ्नै जनताविरुद्ध लड्न तालिम दिइएको बताएका छन् ।
यो अभ्यास जनवरी २२ देखि अज्ञात स्थानमा गरिनेछ ।
यसमा सैनिकहरूलाई राजनीतिक रूपमा अस्थिर काल्पनिक मुलुक पाइनल्यान्डमा राखिनेछ । सैनिकहरूले खोजी, छापामारी, एम्बुश र अन्य विभिन्न कारवाही गर्नेछन् ।