
महानगरीय ट्राफिक महाशाखाले बुधवारदेखि ट्राफिक नियम उल्लंघन गरेबापत चालकहरूले तिर्नुपर्ने जरिवाना रकम प्रभु-पेको किअस्क मेसिनको प्रयोग गरी भुक्तानी गर्न सकिने व्यवस्थाको शुरुवात गरेको छ ।
महाशाखाले शुरुवाती चरणमा ट्राफिक नियम उल्लंघनकर्ताले जरिवाना तिर्न ग्लोबल आईएमई बैंकमा गई भौचरको आधारमा तिर्ने व्यवस्था गरेको थियो ।
पछिल्लो समय ट्राफिक प्रहरी सेवालाई प्रविधिमैत्री बनाउँदै विभिन्न ६४ बैंकको मोबाइल बैंकिङ्, डिजिटल वालेटका १४ वटा जरिवाना भुक्तानी सेवा प्रदायक संस्थाहरू र क्यूआर पेमेन्टबाट समेत जरिवाना तिर्न सकिने प्रणाली सञ्चालनमा छन् ।
ट्राफिक प्रहरी महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशी र प्रभु-पेका अध्यक्ष कुसुम लामाले संयुक्त रुपमा नगद पैसा हालेर ट्राफिक जरिवाना तिर्न सकिने प्रविधि 'प्रभु-पेको किअस्क मेसिन' उद्घाटन गरे ।
एसएसपी जोशीले ट्राफिक सेवालाई थप प्रविधिमैत्री बनाउँदै आम सेवाग्राहीलाई ट्राफिक जरिवाना तिर्न सरल एव सहज होस् भन्ने उद्देश्यले यो मेसिनको जडान गरेको बताए ।
किअस्क मेसिनमा सीधै नगद हालेर जरिवाना भुक्तानी गर्न सकिन्छ, यसले बैंकमा गएर लामो समय लाइनमा बस्ने झन्झटबाट मुक्त हुने र समयको समेत बचत हुने उनले धारणा व्यक्त गरे ।
प्रभु-पेका अध्यक्ष कुसुम लामाले ट्राफिक प्रहरी महाशाखासँग सहकार्य गरी किअस्क मेसिन जडान गरी सेवा विस्तार गर्न पाउँदा खुशी व्यक्त गरे ।
हाल ट्राफिक महाशाखासहित उपत्यकामा ३०९ स्थानमा प्रभु-पेको किअस्क मेसिनबाट ट्राफिक जरिवाना तिर्न सकिने र थप सहकार्य गरी अन्य ट्राफिक प्रहरी कार्यालयहरूमा समेत जडान गर्दै जाने उनले बताए ।
कसरी तिर्ने मेसिनबाट जरिवाना ?
प्रभु-पेको किअस्क मेसिनमा रहेको ट्राफिक प्रहरीको लोगोमा क्लिक गरी स्क्रिनमा देखिने चिट नम्बर र आर्थिक वर्ष टाइप गरी नेक्स्ट बटन थिच्नुहोस् ।
त्यसपछि देखिने चिट नम्बरलगायतको सूचना जाँच गरी नेक्स्ट बटनमा थिचेर तिर्नुपर्ने रकम मेसिनमा हालेर भुक्तानी गर्न सकिन्छ ।
भुक्तानी सफल भए पश्चात प्रिन्ट भएको रसिदसहित ट्राफिक कार्यालयमा गई आफ्नो कागजपत्र लिन सकिन्छ ।
कोरोना संक्रमणको समयमा ट्राफिक कार्यालय र बैंकमा हुने अनावश्यक भीडभाडमा कमी आउने र कोरोना संक्रमणको जोखिमलाई न्यूनीकरण गर्न समेत यो मेसिनले महत्त्वपूर्ण भूमिका खेल्ने ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एव एसपी सञ्जीव शर्मा दासले बताए ।