
नेपाल क्लियरिङ हाउस लिमिटेडको १० औं वार्षिक साधारण सभा बुधवार सम्पन्न भएको छ ।
सभाले कम्पनीको चुक्तापूँजी ४१ दशमलव १ करोड रुपैयाँ रहेकोमा ३८ प्रतिशत बोनस शेयर वितरण गरी ५६ दशमलव ७६ करोड रुपैयाँ पुर्याउनुको साथै अधिकृत पूँजी १ अर्ब रुपैयाँ पुर्याउने निर्णय गरेको छ । साथै सभाले बोनस शेयरको कर प्रयोजनका लागि दुई प्रतिशत नगद लाभांश पनि वितरण गर्ने निर्णय गरेको छ ।
सभाले पूँजी वृद्धि मार्फत भुक्तानी प्रणाली पूर्वाधार विकास तथा विस्तार गर्ने, थप प्रणालीहरू स्थापना गर्ने,जोखिम व्यवस्थापनलाई सुदृढ बनाउने साथै नेशनल पेमेन्ट स्वीच अन्तर्गतको हाल कार्यान्वयनमा रहेको पूर्वाधार स्थापना गर्न उक्त पूँजी प्रयोग गर्ने निर्णय पनि गरेको छ ।
सभामा कम्पनीले सञ्चालन गर्दै आएका भुक्तानी प्रणालीहरूको कारोबार शुल्क अत्यधिक रुपमा घटाएता पनि कम्पनीको भुक्तानी कारोबार संख्यामा उल्लेख्य वृद्धि भएको जानकारी दिइयो । अघिल्लो आवको चार महिनामा कोभिड–१९ को पहिलो लकडाउनमा कम्पनीले सम्पूर्ण कारोबारको शुल्कमा छूट दिएको कारण आव २०७७/ ७८ मा कम्पनीको खुद नाफा ३८ प्रतिशतले वृद्धि भएको पनि सो अवसरमा जानकारी दिइयो ।
सभाले कम्पनीको सञ्चालक समितिमा दुई जना नयाँ सञ्चालकहरु निर्विरोध चयन गरेको छ ।
सभाले सञ्चालक सदस्यमा बिकास बैंकलाई प्रतिनिधित्व गर्दै मुक्तिनाथ विकास बैंकका सहायक नायब प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गुरुङ र फाइनान्स कम्पनीलाई प्रतिनिधित्व गर्दै रिलायन्स फाइनान्सका नायब प्रमुख कार्यकारी अधिकृत समाज प्रकाश श्रेष्ठलाई निर्वाचित गरेको छ ।
सभा सीमित शेयर होल्डरहरुको उपस्थितिमा सरकारले लागू गरेको सम्पूर्ण कोभिडको प्रोटोकलहरु पालना गरी अनलाइन र अफलाइन माध्यमबाट सम्पन्न भएको कम्पनीले बताएको छ ।