
काभ्रेपलाञ्चोकका १३ स्थानीय तहमध्ये ८ तहमा कोरोना संक्रमण देखिएको छ ।
जिल्लाका ६ नगरपाालिका र २ गाउँपालिकामा हाल १३२ कोरोना संक्रमित छन् ।
जिल्लास्थित कोभिड–१९ संक्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डीसीसीएमसी) का अनुसार पछिल्लो २४ घण्टामा ३४ संक्रमित थपिएका हुन् ।
पीसीआर परीक्षणमा २४ र एन्टिजेन परीक्षणमा १० जनामा संक्रमण फेला परेको हो । बनेपा नगरमा ५१, पाँचखालमा ६, धुलिखेलमा ४२, पनौतीमा १४, नमोबुद्ध नगरमा ११, मण्डनदेउपुर नगरमा ३ तथा भुम्लु गाउँपालिकामा ३ र बेथानचोक गाउँपालिकामा २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जिल्लामा हालसम्म १४ हजार ९८७ जनामा कोरोना संक्रमण देखिएको छ । हालसम्म कोरोनाबाट १९३ जनाको मृत्यु भएको छ । कूल संक्रमितमध्ये ९७ दशमलव ८३ प्रतिशत अर्थात् १४ हजार ६६२ जना संक्रमणमुक्त भएका छन् ।