१२ असार २०८३, शुक्रबार

अमेरिका गएर मासिक ३ लाख कमाउने लोभमा पर्दा ३४ लाख डुब्यो

अमेरिका गएर मासिक ३ लाख कमाउने लोभमा पर्दा ३४ लाख डुब्यो
प्रतिकात्मक तस्वीर

अमेरिका जाने लोभमा पर्दा २ व्यक्तिको ३४ लाख रुपैयाँ रकम डुबेको छ भने आफैं मानव बेचबिखनको जालोमा फस्न पुगेका छन् । उनीहरू अहिले न्याय पाउँ भनी प्रहरीको शरणमा पुगेका छन् ।

मानिस बेचबिखन गरेको आरोप लागेका दाङ घर भई हाल काठमाडौंको तारकेश्वर नगरपालिका बस्ने एक दम्पतीमध्ये पत्नी सुधा देवकोटा पक्राउ परे पनि पति मुक्तिनारायण केसी अझै फरार छन् ।

अदालतको आदेशले देवकोटा भने पुर्पक्षका लागि जेल चलान भएका प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले जनाएको छ ।

उनीहरूविरुद्ध विभिन्न मितिमा २ पीडित व्यक्तिको जाहेरी परेको थियो । उनीहरूले अमेरिकामा मासिक ३ लाख रुपैयाँ तलब हुने लोभ देखाएर २७ लाख रुपैयाँ मागेका थिए । एक पीडितबाट उनीहरूले पटक–पटक गरी १९ लाख रुपैयाँ लिएको समेत खुल्न आएको छ ।

सन् २०१९ को जनवरी २५ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इण्डोनेसियाको बाली तथा जाकार्ता पुर्‍याइ बोलेभिया हुँदै अमेरिका जाने भनी लगेका थिए तर विमानस्थलमा पुर्‍याउदा सेटिङ नमिलेको भनी फर्काए । उनीहरूले पछि पीडितलाई मेक्सिको हुँदै अमेरिका जानी भनी इथियोपिया पुर्‍याई कोठामा साढे ३ महिना बन्धक बनाएको खुल्न आएको छ ।

आफू बेचिएको थाहा पाएपछि पीडितले घरबाट टिकट मगाइ फर्किएर विक्रम संवत् २०७६ कात्तिक २१ गते ब्यूरोमा जाहेरी दिएका थिए । उनीहरूले अर्का एक व्यक्तिलाई पनि बेचबिखन गरेको भनी जाहेरी परेको प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमलाले जानकारी दिए ।

उनीहरूले एक व्यक्तिलाई काठमाडौंको स्वयंम्भूबाट बसमार्फत भारतको नयाँदिल्लीमा २ महिना राखी फेरि काम नभएको भनी नेपाल फर्काएर मलेसिया हुँदै इण्डोनेसिया पुर्‍याइएको खुल्न आएको छ । 

अमेरिका लैजाने बहानामा त्यहाँ ७ महिना कोठामा बन्धक बनाइएको र पछि जाकार्ताको इमिग्रेसनबाट उनी पक्राउ परेका थिए । त्यसपछि उनलाई १४ दिन हिरासतमा राखेर नेपाल फर्काइएको थियो ।

विक्रम संवत् २०७६ मंसिर १३ गते आएका पीडित व्यक्तिले १९ गते जाहेरी दिएका थिए । उनीबाट ती दम्पतीले १५ लाख रुपैयाँ लिएको समेत खुल्न आएको छ ।  

सोही आधारमा खोजतलासका क्रममा काठमाडौंको तारकेश्वर नगरपालिका–२ काभ्रेस्थलीबाट अघिल्लो महिनामा पक्राउ परेकी देवकोटालाई जिल्ला अदालत काठमाडौंको आदेशले पुर्पक्षका लागि कारागार चलान गरिएको प्रहरीले बिहीवार एक सूचना जारी गरी जनाएको छ । केसीको भने खोजी जारी रहेको बताइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्