१० साउन २०८३, आइतबार

नबिलले नेपाल बंगलादेश बैंकलाई प्राप्ति गर्ने सम्झौता, एनबीबीले प्रतिशेयर ४३ रूपैयाँ पाउने

नबिलले नेपाल बंगलादेश बैंकलाई प्राप्ति गर्ने सम्झौता, एनबीबीले प्रतिशेयर ४३ रूपैयाँ पाउने

नबिल बैंकले नेपाल बंगलादेश बैंक (एनबीबी) लाई प्राप्ति गर्ने भएको छ । 

एनबी बैंक सञ्चालक समितिको बिहीवार बसेको बैठकले नबिलसँग मर्जरमा जाने निर्णय गरेपछि दुवै बैंकले मर्जर सम्झौतामा हस्ताक्षर गर्न लागेका हुन् ।

बिहीबारै बसेको नबिल बैंकको सञ्चालक समितिले पनि नेपाल बंगलादेश बैंकलाई प्राप्ति गर्ने निर्णय गरेको नबिल बैंकका एक उच्च अधिकारीले जानकारी दिए । 

उनका अनुसार नबिलले एनबी बैंकको शेयर प्रतिकित्ता ४३ रुपैयाँमा खरिद गर्ने भएको छ । नबिलले खरिद गर्ने शेयरमा एनबी बैंकले सहमति दिएपछि बिहीवार नै २ बैंकबीच मर्जर गर्ने सम्झौता हुन लागेको हो ।

नबिल बैंकको शुक्रबार वार्षिक साधारणसभा भएकाले बिहिबारै मर्जरको सम्झौता गर्न लागेको हो । नबिल बैंकले १००ः४३ को स्वाप रेसियोमा एनबीलाई एक्वायर गर्ने गरी सम्झौता हुने तय भइसकेको छ । सम्झौतालाई नबिलले वार्षिक साधारणसभाबाट स्वीकृत गराउने तयारी गरेको छ ।

पछिल्लो समय नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई एक्वाएर गर्ने विषयमा छलफल चलिरहेको थियो । २ बैंक मर्जर भएपछि बन्ने बैंकको नाम पनि नबिल बैंक नै राख्ने सहमति भएको बैंकका एक अधिकारीले बताए ।
 
दुवै बैैंकले सम्पत्ति र दायित्वको मूल्यांकन (डीडीए) गर्दा १० प्रतिशतसम्म तलमाथि भएमा पनि स्वाप रेसियो भने १००ः४३ नै कायम गर्ने सहमति भएको छ ।

के हुन्छ आईएफआईसीको शेयर विवाद ?

नेपाल बंगलादेश बैंक र नबिल बैंकबीच मर्जर गर्ने सहमति भए पनि एनबी बैंकमा रहेको आईएफआईसी बैंकको शेयरबारे भने अदालतबाट जस्तो फैसला आउँछ सोही अनुसार कार्यान्वयन गर्ने सम्झौता भएको नबिल बैंकका एक अधिकारीले बताए ।

नेपाल बंगलादेश बैंकमा आईएफआईसी बैंकको ४१ प्रतिशत (३ करोड ६८ लाख २७ हजार ३२६ कित्ता शेयर) शेयर किनबेचबारे २ ठूला व्यावसायिक घराना चौधरी र दुगड ग्रूपबीच विवाद छ ।  

अदालत पुगेको विवादमा काठमाडौं जिल्ला अदातलले आईसीएफसीको शेयर विनोद चौधरीलाई तत्काल नबेच्न आदेश दिएको छ ।

काठमाडौं जिल्ला अदालतले नेपाल बंगलादेश बैंकमा रहेको ढाकाको वाणिज्य बैंक आईएफआईसीको स्वामित्वमा रहेको शेयर चौधरी ग्रूपलाई नबेच्न आदेश दिएको हो ।

एमभी दुगड ग्रूपका अध्यक्ष मोतिलाल दुगडले शेयर किन्न अप्रिल २०२१ मै स्वीकृति पाइसकेको र करार सम्झौता समेत भइसकेको दाबी गरेका छन् तर चौधरी ग्रूप भने सम्झौताविरूद्ध अदालत गएको थियो । 

अधिवक्ता गान्धी पण्डित पनि अदालतमा विषय भए पनि नबिल बैंक र नेपाल बंगलादेश बैंकले मर्जरको सम्झौता गर्दा कुनै असर नपर्ने बताउँछन् । 

उनले भने, ‘अदालतले जसलाई शेयर बेच्नु भन्छ उसैलाई दिने भएकोले एनबी बैैंक मर्जरमा जान भने शेयर विवादले कुनै असर पर्दैन ।’

अदालतले आईएफआईसीको शेयरको विषयमा मात्रै प्रश्न उठाएको छ । मर्जरको विषयमा भने केही बोलेको छैन । त्यसैले मर्जर अगाडि बढाउन कुनै असर नपर्ने पनि उनले बताए । पण्डितका अनुसार आईएफआईसीको शेयर जसले खरिद गरे पनि मर्जरपछि पनि कारोबार गर्न मिल्छ ।

salt training

कमेन्ट गर्नुहोस्