०५ साउन २०८३, मंगलबार

प्रधानमन्त्री कप क्रिकेटमा विभागीय टोली एपीएफको लगातार तेस्रो जीत

प्रधानमन्त्री कप क्रिकेटमा विभागीय टोली एपीएफको लगातार तेस्रो जीत

विभागीय टोली एपीएफले राजधानीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय ट्वान्टी–२० क्रिकेट प्रतियोगितामा लगातार तेस्रो जीत निकाल्दा सुदूरपश्चिम प्रदेशले पहिलो जीत निकालेको छ ।

मूलपानी मैदानमा बिहीवार भएको खेलमा विभागीय टोली एपीएफले गण्डकी प्रदेशमाथि २ रनको रोमाञ्चक जीत निकाल्दा अर्को खेलमा सुदूरपश्चिम प्रदेशले कीर्तिपुर मैदानमा कर्णाली प्रदेशलाई ४७ रनले हराउँदै जारी प्रतियोगितामा पहिलो जीत निकालेको हो ।

९३ रनको लक्ष्य पछ्याएको गण्डकीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर मात्र ९० रन बनाउन सक्यो । जीतसँगै ३ खेलबाट ६ अंक जोडेको एपीएफ सेमिफाइनल नजिक पुगेको छ ।

एपीएफले यसअघि प्रदेश २ र बागमती प्रदेशलाई पराजित गरेको थियो । यता गण्डकीको लगातार दोस्रो पराजय हो । यसअघि गण्डकीले पहिलो खेल प्रदेश २ विरुद्ध २ विकेटले हारेको थियो ।

गण्डकीका लागि कप्तान विपिन खत्रीले सर्वाधिक ३६ रनको योगदान गरेपनि जीतका लागि पर्याप्त हुन सकेन । विधान श्रेष्ठले २९ रनको योगदान गर्दा अर्जुन कुमालले ८ रन जोड्नुबाहेक अन्य ब्याट्स म्यानले राम्रो स्कोर गर्न सकेनन् । 

गण्डकीलाई सस्तैमा समेट्ने क्रममा एपीएफका कमल ऐरीले ३ विकेट हात पारे भने किशोर महतोले २ तथा अविनाश बोहराको नाममा १/१ विकेट रह्यो ।

यसअघि टस जीतेर पहिले ब्याटिङ गरेको एपीएफले १८.४ ओभरमा सबै विकेट गुमाएर ९२ रन जोडेको थियो । एपीएफका लागि प्रदिप ऐरीले १७ रन जोड्दा आसिफ शेखले १६ रनको योगदान गरे । गण्डकीका कमल परियारले सर्वाधिक ३ विकेट हात पारे । विशाल पौडेलले २ विकेट लिए । कृष्ण पौडेल, सुवाश भण्डारी र चन्द्र पौडेलले १–१ विकेट हात पारे ।

समूह ‘ए’ अन्तर्गत त्रिवि मैदानमा कर्णाली प्रदेशलाई ४७ रनले पराजित गर्दै सुदूरपश्चिमले जारी प्रतियोगितामा पहिलो जीत निकालेको हो । यसअघि सुदुरपश्चिम पहिलो खेलमा पुलिस क्लबसँग २ रनले हारेको थियो ।

पराजित कर्णालीले ३ खेलमा दोस्रो पराजय भोगेको छ । यसअघि कर्णालीले त्रिभुवन आर्मी क्लबसँग ६३ रनको पराजय भोग्दा प्रदेश १ लाई ३१ रनले हराएको थियो ।

१५४ रनको लक्ष्य पछ्याउने क्रममा कर्णाली १९.१ ओभरमा सबै विकेट गुमाएर मात्र १०६ रन जोड्न सक्यो । कर्णालीका कप्तान रविन्द्र शाहीले सर्वाधिक ३५ रनको योगदान गरे पनि जीतका लागि पर्याप्त भएन ।

अर्जुन घर्तीले २४ बलमा ३ चौका र १ छक्काको मद्दतमा ३० रन जोडे । कर्णालीको इनिङ्सलाई सस्तैमा समेट्ने क्रममा शेर मल्लले सर्वाधिक ४ विकेट निकाले । हेमन्त धामीले २ विकेट हात पारे । आदित्य महता, गजेन्द्र बोहरा र विकास अग्रीले १–१ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५३ रन जोडेको थियो । सुदूरपश्चिमका लागि अर्जुन साउँदले सर्वाधिक ३२ रनको योगदान गर्दा वसन्त कार्कीले २८ रन जोडे । दिपक बोहराले २५ तथा खडक बोहराले २२ रनको योगदान गरे ।

कर्णालीका प्रकाश जैसीले सर्वाधिक ३ विकेट हात पारे । रविन्द्र शाही र दिवान पुनले २–२ विकेट लिए भने दिनेश अधिकारीले १ विकेट निकाले ।

यसैबीच मुलपानी क्रिकेट मैदानमा हुने भनिएको त्रिभुवन आर्मी क्लब र प्रदेश नम्बर १ बीचको खेल मैदानमा पानी परेका कारण कारण हुन सकेन ।

कीर्तिपुर मैदानमा नै भएको अर्को खेलमा लुम्बिनी प्रदेशले प्रदेश नम्बर २ लाई ४२ रनले हराउँदै जारी प्रतियोगितामा पहिलो जीत निकाल्यो ।

प्रदेश २ ले ३ खेलमा दोस्रो पराजय भोगेको छ ।  बिहीवारको खेलमा १६२ रनको लक्ष्य पछ्याएको प्रदेश २ ले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ११९ रन मात्र जोड्न सक्यो । प्रदेश २ का लागि विवेक यादवले सर्वाधिक ३६ रन जोडे । हरिकृष्ण झा र सन्तोष कार्कीले समान १४–१४ रन बनाए ।

बलिङतर्फ लुम्बिनीका अनिल खरेलले सर्वाधिक ५ विकेट हात पारे । कृष्ण कार्की, सिद्धान्त शाही र बसिर अहमदले १–१ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६१ रन जोडेको थियो । लुम्बिनीका लागि देव खनालले अर्धशतकीय इनिङ्स खेले । खनालले ३८ बलमा ५४ रन जोड्दा ४ चौका र २ छक्का प्रहार गरे । बसिर अहमद र सन्दीप रजालीले समान ३०–३० रन जोडे ।

बलिङमा प्रदेश २ का विवेक यादव र रुपेश सिंहको नाममा समान २–२ विकेट रह्यो । हरिशंकर साह, महबुब आलम र विशाल सुसलिङले समान १–१ विकेट हात पारे । 

salt training

कमेन्ट गर्नुहोस्