
नेपाल राष्ट्र बैंकले शुक्रवारबाट नेपालको चुच्चे नक्शा अंकित नयाँ दुई रूपैयाँको सिक्का बजारमा पठाएको छ ।
राष्ट्र बैंकले साविककै आकार र रंगमा पुरानो नक्शालाई विस्थापन गरेर सातै प्रदेशसहित चुच्चे नक्शा पनि समावेश गरेको उल्लेख छ ।
राष्ट्र बैंकले जारी गरेको दुई रूपैयाँको सिक्का चलनचल्तीमा ल्याउने सूचनासँगै नक्शामा लिम्पियाधुरा, लिपुलेक, कालापानीसहितका भूभाग समेटिएको नक्शासहितको सिक्का प्रयोगमा ल्याएको जनाएको छ । राष्ट्र बैंकका अनुसार सातै प्रदेश समावेश भएको उक्त नक्शासहितको सिक्का पहिलोपटक चलनचल्तीमा ल्याइएको हो ।
राष्ट्र बैंकका अनुसार यो सिक्का दृष्टिविहीनले पनि स्पर्श गरेर सजिलै पहिचान गर्न सक्ने बनाइएको छ । यसका लागि राष्ट्र बैंकले नक्शाको ठीक माथिपट्टि दायाँतर्फ फरक क्षमता भएका दृष्टिविहीनहरूले स्पर्श गरेर सिक्काको दर पहिचान गर्न सक्ने दुईवटा थोप्ला राखेको जानकारी दिएको छ ।
सिक्काको अग्रभागमा सात प्रदेशको सिमानासहितको चुच्चे नक्शा छ । वृत्ताकार घेराभित्र वरिपरि ६४ वटा थोप्ला छन् । सिक्काको माथिल्लो भागमा अंग्रेजीमा आरएस. टू तल्लो भागमा देवनागरी लिपिमा दुई रूपैयाँ लेखिएको पनि राष्ट्र बैंकले जानकारी दिएको छ ।
सिक्काको पृष्ठभागमा पनि वृत्ताकार घेराभित्र वरिपरि ६४ वटा थोप्लाहरू छन् । आठ थोप्लासहितको वृत्ताकार चित्र र सोभित्र वर्गाकार आकृतिको बाहिरपट्टि वरिपरि चन्द्र, सूर्य, चक्र, शंख, पद्म, गदाको आकृति रहेका छन् ।
सिक्काको बीच भागमा जानकी मन्दिरको आकृति र सो आकृतिको मुनि देवनागरी लिपिमा जानकारी मन्दिर लेखिएको छ । सिक्काको माथिल्लो भागमा देवनागरी लिपिमा नेपाल र तल्लो भागमा २०७७ लेखिएको पनि राष्ट्र बैंकले जारी गरेको सूचनामा उल्लेख छ ।