
पश्चिम नेपाल बस व्यवसायी प्रालि रूपन्देहीले मातहतका सम्पूर्ण व्यवसायी, चालक, परिचालक, हेल्पर तथा शाखा इन्चार्जहरूलाई गाडीभित्र अनिवार्य रूपमा डस्टबिनको व्यवस्था गर्न/गराउन निर्देशन दिएको छ ।
तिलोत्तमा नगरपालिकाको पत्र अनुसार प्रालिले गाडीमा निस्कने फोहोरमैला डस्टबिनमा राखी फोहोरमैला फाल्ने ठाउँमा मात्र फाल्न निर्देश गरेको हो ।
प्रालिले यात्रुलाई पानीका खाली बोत्तल, कागज, प्लास्टिक वा अन्य फोहोरहरू बाटोमा फाल्न नदिन पनि सम्पूर्ण व्यवसायी व्यवसायी, चालक, परिचालक, हेल्परलाई निर्देशन दिएको छ ।
निर्देशनको बोधार्थ तिलोत्तमा नगर प्रमुख, उपप्रमुख, वातावरण शाखा तथा नगरस्तरीय टोल विकास संस्थालाई पठाइएको छ । जथाभावी फोहोरमैला फालेको पाइएमा सम्बन्धित निकाय, प्रशासनद्वारा फोहोरमैला व्यवस्थापन ऐन तथा कार्यविधिअनुसार कारवाही एवं दण्ड जरिवाना हुने प्रालिले जारी गरेको निर्देशन पत्रमा स्पष्ट पारिएको छ ।
तिलोत्तमा नगरपालिकाले प्रालि मातहत सञ्चालित बसहरूमा डस्टबिनमा अनिवार्य व्यवस्था गर्ने व्यवस्था मिलाउन पुस २० गते पत्राचार गरेको थियो । पूर्ण सरसफाई उन्मुख नगरपालिका घोषित तिलोत्तमामा गाडीबाट फालिने फोहोरका कारण सडकमा प्रदूषण बढेको पाइएपछि पश्चिम नेपाल बस व्यवसायी लगायतका यातायात संघसंस्थालाई आवश्यक सहयोगको लागि आग्रह गरिएको थियो ।
तिलोत्तमामा हरेक महिनाको १ र १५ गते नियमित सरसफाई हुँदै आएको छ भने टोल विकास संस्थाहरूले आ–आफ्नो अनुकूलतामा शनिवार वा सार्वजनिक बिदाको दिन नियमित सरसफाई गर्दै आएका छन् ।