
विगतका वर्षहरूमा भक्तजनले भीडभाड हुने पवित्र तीर्थस्थल देवघाट धाम यस वर्ष सुनसान भएको छ ।
कोभिडका कारण स्थानीय प्रशासनले देवघाट प्रवेश गर्ने नाका शिल गरेपछि देवघाट क्षेत्र सुनसान भएको हो ।
स्थानीय प्रशासनले शुक्रवार दिउँसो २ बजेबाट देवघाट प्रवेश गर्ने नाका आँपटारी, रामनगर, ठिकुरा र दासढुंगा प्रवेशमा रोक लगाएको छ । देवघाट क्षेत्र विकास समितिका पूर्व अध्यक्ष स्थानीय शिव पौडेलले देवघाट क्षेत्र सुनसान रहेको बताए ।
कल्पवासी र स्थानीयबाहेक अन्य नदीमा स्नान गर्न गएका छैनन् । पौडेलले अहिलेसम्मकै सबैभन्दा सुनसान भएको बताए । गत वर्ष कोभिड भए पनि केहीले स्नान गर्न पाएको भन्दै उनले यस वर्ष प्रशासनले देवघाट क्षेत्र शिल गरेकोमा आपत्ति व्यक्त गरे ।
उनले भने, ‘सामाजिक दूरी कायम गरेर स्नान गर्न दिनुपथ्र्यो ।’
बाहिरी जिल्लाबाट आएका भक्तजन रोकिएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक भगवानराज थापाले केही भक्तजन रोकिनुपरेको बताए । प्रमुख जिल्ला अधिकारी आश्मान तामाङले कोभिडका कारणले देवघाट मेला रोक्न बाध्य भएको बताए ।
उनले भने, ‘रोग फैलिन नदिन देवघाट छिर्नमा रोक लगाइएको हो ।’ देवघाट मेला भर्न झण्डै ५ लाख भक्तजन आउने अपेक्षा गरिएको थियो । मेलाको औपचारिक रूपमा शुक्रवार बिहान बेनीमा लिंगो गाढेर शुभारम्भ गरिएको थियो ।
गत वर्षहरूमा भक्तजनको ठूलो संख्या हुँदा व्यवस्थापनमा निकै कठिन हुने गरेको थियो ।
संक्रान्तिको अघिल्लो रात शुक्रवार धाममा भक्तजन दीप प्रज्वलन गरी भजनकीर्तनमा सरिक हुने भएको भए पनि कोरोनाका कारण यस वर्ष ती सबै कार्यक्रम स्थगन भएको छ ।
शास्त्रअनुसार सौरमासको हिसाबले माघे संक्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई ‘मकर संक्रान्ति’ भनिएको हो ।